भक्तपुर नगरपालिकाको एघारौँ नगरसभा आजदेखि सुरु भएको छ । बैठकमा नगरप्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको एकता र सहयोगी भावनाले भक्तपुरको विकास र प्रगति सम्भव भएको बताए ।
विचार र सिद्धान्तमा अडिग रही इमान्दारीपूर्वक जनताको सेवा गर्नु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै उनले सभामा सबै सदस्यको सक्रिय सहभागिताका लागि आग्रह गरे । उनले संसदीय निर्वाचनमा तीन प्रतिशत मत प्राप्त नगरेका राजनीतिक दललाई स्थानीय तहको निर्वाचनमा दलीय हैसियतबाट चुनाव चिह्न नदिने निर्वाचन आयोगबाट षड्यन्त्र भइरहेकोबारे सभासद्लाई सचेत पार्दै घोषणापत्रअनुसार कार्य नगर्ने सबै राजनीतिक दल पनि खारेज हुनुपर्ने बताए ।
आव २०७८/७९ को बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी गराउँदै उनले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायत नगर र नगरवासीको जीवनसँग प्रत्यक्ष जोडिएका विषयका साथै थुप्रै विकास निर्माणका काम सम्पन्न गरिसकेको बताए ।
केन्द्र र प्रदेशले स्थानीय तहलाई दिने विशेष अनुदानमा वृद्धि गर्नुपर्नेमा उल्टै सःशर्त र समपूरक बजेटमा वृद्धि गर्नु सङ्घीयता र संविधानको भावनाविपरीत भएको बताउँदै प्रमुख प्रजापतिले स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिई केन्द्र र प्रदेशले कर्मचारी नियुक्ति गरी पठाउनु, प्रदेशले कर्मचारीको सरुवा बढुवा गर्नु र स्थानीय तहले तलब खुवाएका शिक्षकलाई केन्द्र मातहत राख्नु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप भएको भन्दै आपत्ति प्रकट गरे ।
यसअघि सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले जनसहभागिता, जनश्रमदान, जनताको सहयोगमा जनताको सेवा गर्ने अग्रजको मार्गनिर्देशनअनुसार नेमकिपाका जनप्रतिनिधिले कार्य गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया