लालपुर्जा वितरण पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छु : मन्त्री श्रेष्ठ

लोकपथ
175
Shares

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमिविहीनहरुलाई लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडि बढिरहेको बताएकी छन् ।

सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. १ र २ (साविक रामपुर विर्ता र मल्हनियाँ खोरी)मा विशेष नापी मार्फत नापी गरिएको गाउँब्लक जग्गाको पुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालयको प्राथमिकतामा नपरेको गाउँब्लकमा लालपूर्जा वितरण कार्यलाई आफूले मन्त्रालय संहालेपछि पहिलो प्राथमिकता बनाएर काम गरिरहेको बताइन् ।

जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले २०२१ साल यता नापीहुदा गाउँब्लकका रुपमा लामो समयदेखि थन्किएर बसेको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम सुरु गरेको र यस वर्षभित्र लालपूर्जा वितरण गरिसक्ने लक्ष्यसहित अभियान नै सञ्चालन गरिरहेको पनि बताइन् ।

जमिन भएर पनि लालपूर्जा नहुदा भूमिविहीन बनिरहेकाहरुको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै अब कोही पनि भूमिहीन भएर बस्नु नपर्ने पनि मन्त्री श्रेष्ठले बताइन् ।

संविधानमा भएका नागरिकको हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफू प्रतिबद्ध भएर लागेको भन्दै मन्त्री श्रेष्ठले लामो र झन्झटीला प्रक्रिया छोट्याएर छिटोभन्दा छिटो काम गर्ने गरी अगाडि बढिरहेको पनि बताइन् ।

सिरहामा आज, भोली र पर्सिमा गाउँब्लकमा रहेका एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिसक्ने कार्यक्रम रहेको छ ।

यसै क्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिन् ।

२०२१ सालयता देशका विभिन्न जिल्लामा नापी हुदा गाउँव्लकका रुपमा रही अफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिँदै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?