आप्रवासीको तथ्याङ्क सङ्कलन गरिँदै

लोकपथ
0
Shares

स्याङ्जाको वालिङ नगरपालिकाले आप्रवासीको तथ्याङ्क सङ्कलनको तयारी थालेको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा नगरपालिकाले गणकलाई तालिम दिइ आजदेखि परिचालन गर्दैछ ।

वालिङ नगरभित्रका नागरिक वैदेशिक रोजगारीमा गएका वा गएर फर्केकाको तथ्याङ्क सङ्कलन गर्ने, उनीहरुको सीप, योग्यतालगायत विवरण सङ्कलन गरिने नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । “वालिङका नागरिक वैदेशिक रोजगारीमा कति छन्, कति फर्किए, उनीहरुसित के–कस्तो सीप छ वा बेरोजगार छन् यी सबै विवरण गणकले घर–घरमै पुगेर सङ्कलन गर्नेछन्”, उनले भने, “इच्छुकको नामावली, सीप, क्षमता, योग्यतालाई ‘रोजगार पोर्टल’ निर्माण गरी राख्ने योजना छ ।”

‘रोजगार पोर्टल’ मा इच्छुकको नामावली राखेसँगै उद्योग तथा कलकारखानालाई आवश्यक पर्दा सहजरूपमा उपलब्ध गराउन सकिने छ । “वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाको सीप, क्षमताको विवरण ‘रोजगार पोर्टल’मा उल्लेख गरिन्छ”, उनले भने, “सोही पोर्टलमा उद्योग तथा कलकारखानालाई आवश्यक पर्ने जनशक्तिको पनि विवरण राखिने छ, कामदारले काम पाउने र उद्योगले कामदार पाउन सहज हुने छ ।”

वालिङका कति नागरिक वैदेशिक रोजगारीमा छन्, कति फर्किएका छन्, फर्किएका वालिङका नागरिकको स्थिति के छ भन्ने बुझ्नका लागि १४ वटै वडामा गणक खटाइएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए ।

कोभो एप्स’को प्रयोग गरेर गणकले डिजिटल प्रविधिबाट तथ्याङ्क सङ्कलन गर्नेछन् । वैदेशिक रोजगारीमा गएका नागरिकले पठाउने रेमिट्यान्स र घरपरिवारले त्यसको प्रयोग के काममा गरेका छन् भन्ने विवरणसमेत गणकले घर–घरमै पुगेर लिने भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?