आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
70
Shares

१. भोलि प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी कार्यसूचीमा परेन, सभामुख सापकोटाले बुधबारका लागि बोलाए कार्यव्यवस्था समितिको बैठक ।

२. राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाद्वारा पार्टी परित्यागको घोषणा, आफ्नो मागको सम्बोधन नहुने भएपछि पार्टी परित्यागको अप्रिय निर्णय लिनु परेको भनाइ ।

३. आगामी ३० वैशाखमा हुने स्थनीय तहको निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग, निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट बन्दै ।

४. चीनसँगको सीमा समस्याबारे बोले नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की, सीमा समस्याबारे सरकारले अध्ययन गरेर मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने भनाइ ।

५. स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने नेकपा एमालेका नेता महेश बस्नेतको दाबी, कानुनी रुपमा चुनौती दिएर अदालत जाने र चुनाव सार्ने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त ।

६. एमसीसी फिर्ता गर्न अमेरिकी सरकारलाई राष्ट्रियसभा सदस्य वामदेव गौतमको आग्रह, एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसद्बाट पारित हुने स्थिति न्यून नभएको दाबी ।

७. न्यायपालिका सुधारका लागि नेपाल बार एसोसिएसनले सुरु गरेको आन्दोलनको १०० दिन पूरा, माग सम्बोधन नहुन्जेल आन्दोलन जारी रहने अध्यक्ष श्रेष्ठको भनाइ ।

८. वैशाख ३० गते निर्वाचन गर्दा कानुनी जटिलता हुनसक्ने नेकपा माओवादी केन्द्रका नेता देव गुरुङको भनाइ, स्थानीय तह निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको टिप्पणी ।

९. बुधबारसम्म कोरोनाविरुद्धको खोपको विवरण पठाउन मातहतका निकायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन, ६ जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई भोलिसम्म विवरण बुझाउन अल्टिमेटम ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ६ सय ९२ परीक्षणमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार १ सय ३ जना कोरोना संक्रमणमुक्त, ११ जनाको मृत्यु ।

११. साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट, १६ दशमलव ३ अंकले नेप्से घट्दा ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँको कारोबार ।

१२. नेटोले युक्रेनलाई हतियार पठाइरहेको रुसी राष्ट्रपति पुटिनको दाबी, नेटो सदस्यहरूले युक्रेनलाई हतियारहरू प्रदान गर्दै उत्तेजित गर्ने काम जारी राखेको आरोप ।

१३. अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बने गौतम अडानी, ५९ वर्षीय अडानीको नेटवर्थ ८८ दशमलव ५ अर्ब डलरभन्दा माथि ।

१४ . आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपअन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान, स्पिनर सागर पहिलो पटक राष्ट्रिय टोलीमा ।

१५. र, इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गतको खेलमा आज म्यानचेस्टर युनाइटेड र बर्नली भिड्दै, पछिल्लो ३ हारको बदला तिर्ने दाउमा मैदान उत्रँदै बर्नली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?