एक वर्षदेखि तलबविहीन कर्मचारी

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाका कर्मचारीहरुले गत एक वर्षदेखि तलब नपाएका खुलास भएकोे छ । नगरपालिकाको विभिन्न वडामा करारमा कार्यरत पाँच जना कर्मचारीले २०७४ साउन महिनाबाट मासिक तलब नपाएको खुलेको हो ।  

एक वर्षदेखि तलब नपाएपछि पीडितहरुले तलब माग गर्दैै जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, विभिन्न राजनैतिक दलहरु लगायत सरोकारवाला निकायमा निवेदन दिएका छन् । 

षडानन्द नगरपालिकाको वडा–११ र १२ साविकको देउराली गाविसमा २०६६ सालबाट करारमा काम गर्दै आएका खरिदार मुक्ती प्रसाद घिमिरे, २०७० सालबाट काम गर्दै आएका कार्यालय सहयोगी खगेन्द्र कुमार घिमिरे, सोही वडामा २०७६ सालबाट काम गर्दै आएका  सन्तोष कार्की र  वडा नं–१० साविकाको सामपाङ्ग गाविसमा २०६३ सालबाट काम आएका कार्यालय सहयोगी धर्मानन्द काफ्लेले तलब नपाएपछि निवेदन दिएका हुन् । 

ती कर्मचारीहरु कार्यरत रहेको  वडा कार्यालयले करारका कर्मचारीहरुको हाजिरी खाताको प्रमाणीकरणसँगै अन्य कागजात नगरपालिकामा पठाएइसकेको भएपनि तलब नपाएको उनीहरुको गुनासो छ ।  निवेदक मध्येका एक सन्तोष कार्कीले भने ‘हामीले २०७४ साउनबाट तलबका साथै नियुक्ति पत्र समेत पाएका छैनौं ।’ 

यता, नगरपालिकाका प्रमुख विरबल राईले करारका कर्मचारीहरुले पाउने तलब दिने व्यवस्था मिलाउने प्रयास भइरहेको बताए । नगरपालिकाले २०७४ साउन महिनाबाट नै नियुक्ती दिएर जाने निर्णय गरेको भएपनि तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको कारण समस्या उत्पन्न भएको नगर प्रमुख राईले बताए । 

उनले भने, ‘हामी उनीहरुलाई तलब दिलाउने पक्षमै छौं, यस अघि सरुवा भएर गएका  प्रशासकीय आधिकृतहरुले उनिहरुलाई नियुक्त पत्र समयमा नदिँदा केही समस्या भएको हो ।’ 

सरुवा भएर गए पनि अव पहिलाका  प्रशाकिय अधिकृतलाई भेटेर उनीहरुको नियुक्ती पत्रमा हस्ताक्षर गराएर तलव दिने लक्ष्यका साथ काम भइरहेको छ, उनले भने । 

सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतहरु जय नारायण खनाल र चन्द्र कार्कीको कार्यकालको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि नगरपालिकाको काममा केही  ढिलाइ भएको नगरप्रमुख राईले स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?