टोलटोलमा सडक, छियाछिया पहाड

पाँचथर – गत वर्ष उत्तरी फालेलुङ गाउँपालिकामा पहिरोमा परी दुई जनाको ज्यान गयो भने दुईजना बेपत्ता भए। सडक आसपासबाट गएको पहिरोले गाउँबाट सयौं विस्थापित बने। पहाडमात्र भत्काएर बनाइएको सडक आसपासका जमिनमा पहिरो जाँदा जनधनको क्षति भएको थियो।

आर्थिक वर्ष सकिन लाग्दा गाउँगाउँमा धमाधम बाटो खन्ने काम भइरहेको छ। उपभोक्ता समिति र ठेकेदारहरु काम सक्न व्यस्त छन्। ‘जिल्लामा सडक त प्रशस्त बनेका छन् तर प्राविधिक दृष्टिले निकै कमजोर छन्। प्राथमिकता छनोट र आवश्यकतालाई ध्यान दिन नसक्दा सडक गुणस्तरीय बन्न सकेनन्’, जिल्ला प्राविधिक कार्यालयका डिभिजनल इन्जिनियर जयराम श्रेष्ठले भने, ‘टोलटोलमा सडक बनाइए पनि कमजोर छन्। स्काभेटरले खनेर पहाड छियाछिया बनेका छन्, कुनै पनि बेला पहिरो जान सक्ने जोखिम छ।’

जिल्ला प्राविधिक कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षसम्ममा दुई हजार चार सय ४२ किलोमिटर ग्रामीण सडक बनेका छन् । प्राविधिक प्रेम काफ्लेले दुई सय ३० किलोमिटर सडकमा मात्र वर्षभरि गाडी कुद्ने बताए। उनका अनुसार चालू आर्थिक वर्षमा सडक खन्न प्रशस्त बजेट छुट्ट्याइएको छ।

जिल्लाका सात गाउँपालिकामध्ये याङवरक गाउँपालिकाको केन्द्रमा मात्र वर्षभरि गाडी कुद्छ। मध्यपहाडी लोकमार्ग कालोपत्रे भएकाले यो गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको हो। ‘सडकको संख्या त धेरै छ तर बिरामी पर्दा एम्बुलेन्स गुडाउने सडक भएन। सुत्केरी व्यथा लागेका महिलाको बाटोमै बिजोग हुने गरेको छ। राजमार्गबाहेक जिल्लाका सबै सडकको अवस्था नाजुक छ,’ जिल्ला समन्वय अधिकारी गिरिराज ज्ञवालीले भने, ‘घरघर र जंगलसम्म बाटो लगिएको छ। स्काभेटरले पहाड भत्काइरहेका छन्। तर प्राथमिकता छान्न नसक्दा सडकको अवस्था राम्रो बन्न सकेको छैन।’ अब नयाँ ठाउँमा सडक बनाउनभन्दा बनेका सडक स्तरीय बनाउनुपर्ने उनी बताउँछन्। रवि–राँके सडक बनेको तीन दशक बढी भयो । तर बर्खामा यो सडकमा गाडी चल्दैन। फिदिम–फालोट, फिदिम–यासोक, जोरपोखरी–मेमेङ, दशमी–मौवा जोड्ने सडकको अवस्था पनि उस्तै छ, नागरिक दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?