सेनापतिको बढुवा सिफारिस किन रोक्यो रक्षाले ?

काठमाडाै‍-प्रधानसेनापति राजेन्द्र क्षेत्रीले महासेनानी बढुवासम्बन्धी ‘विवादास्पद’ सिफारिस गरेपछि रक्षा मन्त्रालयले रोकिदिएको छ । अवकास हुनु केही महिनाअघि वरिष्ठ र भावी सेनापतिका दावेदार मानिएका अधिकृतहरूलाई पन्छाएर कनिष्ठसहित ४० जनालाई बढुवाका लागि सिफारिस गरेपछि उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले महासेनानी बढुवासम्बन्धी सैनिक मुख्यालयले गरेको प्रस्ताव २ महिनादेखि रोकेका हुन् ।
प्रधानसेनापति क्षेत्रीले आगामी भदौ २४ गतेबाट अनिवार्य अवकास पाउँदै छन् । त्यसको १ महिनाअघि नै सेनापति बिदामा बस्ने चलन छ । रक्षा मन्त्रालयले प्रस्ताव संशोधन गरेर पुनः पेश गर्न प्रधानसेनापति क्षेत्रीलाई निर्देशन दिएको छन । कतिपय जर्नेलहरूले अवकासको मुखमा सेनापतिले आर्थिक मामिला र दीर्घकालिन असर गर्ने सरुवा–बढुवामा निर्णय लिन नहुने धारणा पनि राखेका थिए । तर, उक्त सुझावलाई प्रधानसेनापति क्षेत्रीले बेवास्ता गरेका हुन् ।
“उत्कृष्ट कार्यसम्पादन गरेका तथा करिअर भएका अफिसरलाई छुटाएर किन जुनियरलाई प्रमोसनका लागि सिफारिस गरियो, यसको चित्तबुझ्दो जवाफ सहित प्रस्ताव संशोधन गरेर पुन पठाउनुस्,” रक्षामन्त्री पोखरेलले प्रधानसेनापति क्षेत्रीलाई दिएको निर्देशन उल्लेख गर्दै स्रोतले भन्यो । सेनापति क्षेत्रीले प्रस्ताव संशोधन नगरे बढुवा प्रक्रिया अघि नबढ्ने मन्त्रालयको चेतावनी छ । उत्कृष्ट कार्यसम्पादन भएर पनि बढुवामा छुटेपछि केहीले बढुवा समितिले दिएको नम्बर हेर्न माग गर्दै निवेदन दिएका थिए ।
तर, बढुवा समितिले दिएको नम्बर प्रधानसेनापतिकै आदेशमा हेर्न नमिल्ने भन्दै फिर्ता पठाइएकोे स्रोतले जानकारी दियो । अाजकाे काराेबार दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?