नेपाली कांग्रेस कैलालीको आसन्न अधिवेशन : चुनावी सरगर्मी बढ्यो

देउवा पक्षकै छ जना सभापतिका आकांक्षी

धनगढी । नेपाली कांग्रेस, कैलालीको जिल्ला अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । पटक–पटक स्थगित भएको जिल्ला अधिवेशन आगामी २७ गते हुँदै छ ।
कांग्रेस केन्द्रीय कार्यालयले अधिवेशन नभएका १६ जिल्लामा आगामी २७ गतेको मिति तय गरेको छ ।

अधिवेशनको मिति तोकिएपछि जिल्ला सभापतिसहित पदाधिकारी र सदस्य पदका आकांक्षीहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । आकांक्षीहरूले प्रायः सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै मत मागिरहेका छन्् ।

त्यस्तै आकांक्षीहरूले भेला लगायतका कार्यक्रम पनि आयोजना गरिरहेका छन्् ।

कैलालीमा संस्थापन तथा संस्थापनबाहेकको पक्षबीच धेरैजसो वडा तहदेखि नै प्रतिस्पर्धा हुँदै आएको थियो । कैलाली कांग्रेस सभापतिका लागि अहिलेसम्म संस्थापन पक्षका नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत आएका छन्् ।

जिल्ला सभापतिका लागि संस्थापन पक्ष निकट जिल्ला उपसभापति प्रकाश बहादुर बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, गणेश देउवा र नवराज रावल आकांक्षी रहेका छन् ।

संस्थापनबाहेकको पक्षबाट अहिलेसम्म सभापतिमा को उम्मेदवार हुने भन्ने खुलेको छैन । रामचन्द्र पौडेल समूहबाट दिनेशराज जोशी र गणेश देउवा आकांक्षी रहेका छन् ।

संस्थापनबाहेकका एक नेताले भने, ‘हामी छलफलमा छौँ । हामी प्यानलसहित नै निर्वाचन लड्ने बढी सम्भावना छ ।’

सभापतिका आकांक्षी बमले मंसिरको पहिलो साता धनगढीमा पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । सभापतिका अर्का आकांक्षी भट्टले तीनचार वर्षअघिदेखि नै आफूलाई सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आएका थिए ।

कैलालीमा संस्थापन पक्षका दुई समूहबीच तीव्र प्रतिस्पर्धा रहेको देखिन्छ । भट्ट निकट एक नेताका अनुसार संस्थापन पक्ष नेतृत्वबाट उनी नै आधिकारिक उम्मेदवार हुने बढी सम्भावना रहेको छ ।

भट्टलाई संस्थापन पक्षले आधिकारिक उम्मेदवार घोषणा गरेमा अर्को समूहले कस्तो रणनीति अपनाउँछ ? भन्ने अहिल्यै स्पष्ट भइसकेको छैन ।

सभापतिका आकांक्षी बमले अहिले वडा तथा पालिका र क्षेत्रस्तरीय भेला र भेटघाट कार्यक्रममा आफ्नो सहभागिता तीव्र बनाइरहेका छन् ।

कैलाली क्षेत्र नम्बर ४ बाट एक मतले मात्रै महाधिवेशन प्रतिनिधिमा विजयी बमले जिल्लाका धेरैजसो नेता र कार्यकर्ताको आफूलाई समर्थन रहेको दाबी गरे ।

उनले भने, ‘मैले लामो समयदेखि पार्टीका विभिन्न पदमा रहेर काम गरेको छु । अहिले म उपसभापति रहेकोले सभापतिमा मेरा उम्मेदवारी स्वाभाविक हो ।’

सभापतिका आकांक्षी बडुवालले जिल्ला युवा नेतृत्व ल्याउनुपर्ने अभियानमा आफू लागेको बताए ।

त्यस्तै, जिल्ला सचिवमा अहिलेका कार्यसमिति सदस्य नृपबहादुर सुनार, केशव मिश्र, अमृत बिसीलगायतले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन्् ।

जिल्ला अधिवेशन प्रचारप्रसार समिति संयोजक समेत रहेका सचिव पदका आकांक्षी सुनारले अधिवेशनको तयारी तीव्र बनाइएको बताए । उनले भने– अहिले हामी वडा तथा पालिकास्तरीय बैठक, भेलामा जुटेका छौँ । यी बैठकमार्फत जिल्ला अधिवेशनको तयारी भइरहेको छ ।

जिल्ला अधिवेशनका यसअघि नै निवर्तमान जिल्ला सभापति नरनारायण शाहको अध्यक्षतामा एक हजार पाँच सय एक सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।

शाह प्रदेशको महामन्त्रीमा निर्वाचित भइसकेका छन्् । जिल्ला अधिवेशन गर्न मूल समितिको जिम्मेवारी समितिलाई दिने वा उपसभापति बमको संयोजकत्वमा समिति गठन गर्ने भन्नेबारे अहिलेसम्म टुंगो लगाइएको छैन ।

अधिवेशन प्रचारप्रसार समिति संयोजक सुनारले भने, ‘तत्कालीन सभापति शाह प्रदेश महामन्त्रीमा निर्वाचित भइसक्नुभएको छ । अहिले जिल्लाको कार्यवाहक सभापतिमा बम हुनुहुन्छ । के गर्ने र कसरी गर्ने भन्नेबारे टुङ्गो लागेको छैन ।

एक सय २६ वडा रहेको कैलालीमा जिल्ला अधिवेशनका लागि २५ सय बढी प्रतिनिधिहरू रहेका छन्् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?