विधुत् केन्द्रमा तोडफोड गर्ने चार पक्राउ

बेनी : विगत तीन दिनदेखि दैनिक आठ घण्टाभन्दा बढी समयसम्म विधुत सेवा कटौती गरेको विरोधमा नेपाल विधुत प्राधिकरण, बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलबार राति अबेरसम्म पनि विधुत नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार्यालय अगाडि जम्मा भएको समूहले कार्यालयमा तोडफोडसमेत गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मंगलबार रातको करीब १० बजे कार्यालयमा पसेका केही व्यक्तिले कार्यालयभित्र भएको टेलिफोन, चारवटा झ्यालको सिसासमेत फुटाएको कार्यालयले बुधबार अबेर जनाएको छ । 

रातका समयमा कार्यालय तोडफोड गर्ने कार्यमा संलग्न रहेका रामबहादुर थापा, हरिबहादुर शाक्य, दिलीप बरुवाल र गंगा थापालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । 

पक्राउ परेकामध्ये हरिबहादुर शाक्य राप्रपाबाट निर्वाचित जिल्ला समन्वय समितिका सदस्य हुन् । पक्राउ परेकालाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रनाउ बुढामगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?