धनगढी । राष्ट्रिय योजना आयोगले सुदूरपश्चिमका विकास योजनाको खाका बनाउन लागेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको नेतृत्वमा खटिएको टोलीले प्रदेशको विकासको खाका बनाउन लागेको हो ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमका विकास योजनाको खाका बनाउन भन्दै उपाध्यक्ष डाक्टर पौडेल र नेता नैनसिंह महरसहितको टोली बुधबार धनगढी पुगेको हो ।
उक्त टोलीले नौवटै जिल्लामा पुगेर योजनाको खाका बनाउने जनाइएको छ । सबै स्थानीय तहका जनप्रतिनिधिसहित पार्टीका नेताहरूलाई समेत जिल्लामा हुने विकास छलफल तथा सुझाव संकलनमा सहभागिता जनाइदिन आग्रह गरिएको छ ।
देउवाको गृहप्रदेश मानिएको सुदूरपश्चिम प्रदेश विकासको दृष्टिकोणले कर्णाली प्रदेशभन्दा अघि र अन्य प्रदेशभन्दा पछाडि रहेको छ । प्रदेशमा ठूला तथा राष्ट्रिय गौरवका योजना न्यून मात्रामा आउने र आए पनि बजेट अभावले समयमै काम सम्पन्न नहुँदा अझै पनि विकासका हिसाबले फड्को मार्न सकेको छैन ।
लामो समयदेखि प्रदेशमा पश्चिम–सेती परियोजनाको चर्चा भए पनि अहिलेसम्म अघि बढ्न सकेको छैन । प्रदेश गौरवकै आयोजना मानिएको रानी जमरा कुलरिया सिँचाइ आयोजना, धनगढी–स्याउले–दीपायल सडक, महाकाली सिँचाइ परियोजना अघि बढ्न सकेका छैन ।
प्रदेशको विकासका लागि धनगढी–मानसरोवरलाई सडक सञ्जालले जोड्नुपर्ने विज्ञहरूले माग गर्दै आइरहे पनि अघि बढ्न सकेको छैन । यहाँका स्थानीयहरूले गेटा विमानस्थललाई प्रादेशिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने माग गर्दै आए पनि अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । गौरिफन्टा नाकाको स्तरोन्नति, सेती प्रादेशिक अस्पताललाई पाँच सय शैय्याको अस्पताल बनाउनुपर्ने प्रक्रिया समेत अघि बढ्न सकेको छैन ।
प्रधानमन्त्री देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले आगामी निर्वाचनलाई लक्षित गर्दै योजना आयोगको टोली खटाएको बुझिएको छ । विशेष चासोका साथ खटाएको टोलीले सुदूरपश्चिममा आगमी निर्वाचनलाई समेत ध्यानमा राखेर योजना बनाउन तथा ठूला रोजगारी सिर्जना गर्नसक्ने गरी योजनाका खाका बनाउन टोलीलाई जिम्मेवारी दिइएको जनाइएको छ ।
सो टोलीले योजनाको खाका बनाउने क्रममा प्रदेशका नौवटै जिल्लामा क्रमशः योजना तर्जुमा र निर्माणबारे अन्तरक्रिया गर्नेछ ।
यसै क्रममा बुधबार धनगढीमा सम्पन्न एक अन्तरक्रियामा धनगढी उपमहानगरपालिका प्रमुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप वड, उपप्रमुख एवं नेपाली कांग्र्रेस केन्द्रीय सदस्य शुशीला मिश्र भट्ट, राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्ले, युवा स्वरोजगार कोषका कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, नेपाली काग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह, कैलाली क्षेत्र न.५ का सभापति भिम पडाललगायत नेताहरूले आ–आफ्नो मन्तव्य राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया