धनगढीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

लोकपथ
189
Shares

धनगढी । कैलालीको धनगढीमा निर्वाचन अधिकृतको कार्यालय शनिबार उद्घाटन गरिएको छ ।

यही माघ १२ गतेदेखि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि कार्यालयको उद्घाटन गरिएको हो ।

एक समारोहका बीच जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले डोरी तानेर ब्यानर उद्घाटन गरेका थिए ।

२०७४ सालको निर्वाचन प्रदेशको डोटी जिल्लामा गरिएको थियो । यस वर्ष भने निर्वाचन आयोगले धनगढीमा गर्ने निर्णय गरेको थियो ।

सो अवसरमा बोल्दै अधिकृत पनेरुले मतदाता नामावली प्रकाशन भइसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनका अनुसार यही १७ गते मतदाता नामावली प्रकाशन गर्ने र उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइनेछ ।

सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ । प्रदेशमा एक महिला, दलित र अन्य पदका लागि निर्वाचन हुनेछ । निर्वाचन अधिकृत पनेरुले धनगढीस्थित प्रदेशसभा सचिवालयमा दुईवटा मतदानकेन्द्र स्थापना गरी मतदान गराइने बताए । सोका लागि एक मतदानकेन्द्रमा तीनवटा मतपेटिका राखिनेछ ।

तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन् । प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधि रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?