कांग्रेसकाे १४औँ महाधिवेशन नजिकिएसँगै कैलालीमा चुनावी सरगर्मी बढ्यो

धनगढी । नेपाली कांग्रेस कैलालीको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै जिल्लामा चहलपहल बढेको छ ।

केन्द्रीय कार्यालयले जिल्लामा यही २७ गते वडा अधिवेशन गर्ने मिति तय गरेपछि कार्यकर्तामा चहलपहल बढेको हो । मिति नजिकिएसँगै जिल्ला कार्यसमितिले पनि अधिवेशन सफल बनाउनका लागि तयारी अघि बढाएको जनाइएको छ ।

नेपाली कांग्रेस कैलालीले अधिवेशनलाई सफल बनाउन कात्तिक २४ गते निर्माण व्यवसायी संघको सभाहलमा बैठक गर्ने जनाएको छ । बैठक दिउँसो ११ बजेका लागि तय गरिएको छ । उक्त बैठकमा अधिवेशनकेन्द्रित महत्वपूर्ण निर्णय हुने १४औँ महाधिवेशन प्रचारप्रसार समिति कैलालीका नृपबहादुर सुनारले बताए ।

उक्त बैठकमा जिल्लाका लागि खटिएका केन्द्रीय निर्वाचन प्रतिनिधि टेकप्रसाद सुवेदीसहितको उपस्थितिमा जिल्लामा रहेका पार्टी केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा उम्मेदवार, पूर्वजिल्ला सभापति÷प्रदेशसभा सदस्य, पूर्वसांसद, पूर्वजिविस सभापति÷उपसभापति, जिल्ला पदाधिकारी, सदस्य, क्षेत्रीय सभापति, प्रदेशसभा सभापति, प्रदेशसभा उम्मेदवार, नगर, गाउँपालिका सभापति, नगर/गाउँपालिका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्ष उम्मेदवार, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष/सभापति महानुभावहरू सहभागी हुने उनले बताए ।

केन्द्रीय कार्यालयले जिल्लामा १४ महाधिवेशनको नयाँ कार्यतालिका कात्तिक २७ गते वडा, कात्तिक ३० गते पालिका अधिवेशन, मंसिर ३ गते प्रदेशसभा अधिवेशन मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन मंसिर १० गते जिल्लाको मिति तय गरेको थियो ।

सो बैठकले अधिवेशनलाई भव्य तथा सभ्य, एकता, मेलमेलाप, सहमति, सहकर्य र सहअस्तित्वलाई आत्मासात् गरी सबै प्रक्रिया विवादरहित ढंगले सम्पन्न गर्न सबैलाई अनुरोध गर्ने र अधिवेशनका लागि आवश्यक निर्णय गर्ने समेत प्रचार समितिका सयोजक सुनारले बताए ।
यसअघि निर्वाचनलाई व्यवस्थित गर्ने कात्तिक ६ गतेको जिल्ला कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी सभापति नरनारायण शाहको अध्यक्षतामा एक हजार पाँच सय एक सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिसकेको छ । मूल समितिलाई सहयोग गर्न ११ जना सयोजक रहने गरी विभिन्न समिति निर्माण गरिएको छ ।

जसमा आर्थिक व्यवस्थापन समिति सयोजक– शेरबहादुर देउवा, अधिवेशन प्रचारप्रसार समिति सयोजक– नृपबहादुर सुनार, स्वयंसेवक समिति संयोजक– कृष्ण पाण्डे, आवास व्यवस्थापन समिति संयोजक–केशव मिश्र, भोजन व्यवस्थापन समिति संयोजक–नारायण सत्याल, यातायात व्यवस्थापन समिति सयोजक– टेकराज जोशी, प्राथमिक उपचार समिति सयोज– उत्तम जोशी, मच व्यवस्थापन समिति संयोजक– पुरन चौधरी, अतिथि सत्कार समिति संयोजक– रेखा देवकोटा, सचिवालय व्यवस्थापन समिति सयोजक– कमला शर्मा र निर्वाचन व्यवस्थापन समिति सयोजक नवराज रावललाई तोकिएको छ । बैठकले जिल्ला अधिवेशनको स्थान मेनरोड धनगढीमा अवस्थित ओम प्यालेसमा गर्ने निर्णय गरिसकेको छ ।

आकांक्षीहरू खुल्दै

जिल्लाको वडा, नगर, जिल्ला, क्षेत्रीय अधिवेशन नजिकिएसँगै आकांक्षीहरू खुल्न थालेका छन् ।

कैलाली जिल्लाको सभापतिका लागि आकांक्षीहरू धेरै भए पनि सार्वजनिक रूपमै खुलेका थिएनन । २०७० सालको निर्वाचनमा विजयी भएको कैलाली जिल्लामा शेरबहादुर देउवा निकटकै व्यक्तिहरू जिल्ला सभापतिको दौडमा रहेका छन् । कैलालीमा देउवा र पौडेल पक्षबीच प्रतिस्पर्धा हुँदै आएको छ ।

अहिले जिल्ला सभापतिका लागि हाल पार्टीका उपसभापति समेत रहेका प्रकाश बमलगायत देउवा निकटका नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, नृपबहादुर वड आकांक्षी देखिएका छन् भने रामचन्द्र पौडेल समूहबाट दिनेशराज जोशी र गणेश देउवा आकांक्षी रहेका छन् ।

पौडेल पक्षका जोशी र देउवाको बलियो दाबी रहेको छ भने देउवा पक्षका बम र बडुवालको दाबी बलियो रहेको जनाइएको छ ।

सोमबार नेपाली कांग्रेस कैलालीका वर्तमान उपसभापति प्रकाश बमले कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने भन्दै खुलेका हुन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आगामी मंसिरमा हुने जिल्ला अधिवेशनका लागि बमले सभापतिमा उम्मेदवारी दिने जानकारी पत्रकार सम्मेलनको आयोजना गरी दिएका हुन् ।

‘पार्टीको उपसभापति भई पार्टीका गतिविधिलाई जिल्लाभरि नै चलायमान बनाएका हौँ । अब सभापति हुने मेरै पालो हो’, उनले भने, ‘पार्टीका शीर्ष नेताहरूले पनि मलाई समर्थन गरेका छन् । त्यसैले म सभापतिको दाबेदार भएको घोषणा गर्दछु ।’

उनले सभापति पद पाएमा आफूले पार्टीलाई थप सुदृढीकरण गर्दै अघि बढ्ने बताए ।

‘हामीले पार्टीभित्रको गुट हटाउने प्रयास गरेका थियौँ । त्यसमा धेरै सफल पनि भएका छौं’, उनले भने, ‘म सभापति भएपछि स्थानीय तहदेखि संघीय निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नेछ, संगठन सुदृढीकरण गर्नतर्फ अग्रसर हुनेछु’, उनले सबै कार्यकर्ताको रोजाइमा आफू नै पर्ने दाबी गरे ।

‘विगत दुई वर्षदेखि मैले सभापतिका लागि तयारी गरेको छु,’ उनले भने, ‘त्यस क्रममा सबै पालिका र वडामा म पुगेको छु, सबै क्षेत्रबाट मलाई सहयोग छ ।’

आफ्नो उम्मेदवारीमा जिल्लादेखि केन्द्रको सहयोग रहने विश्वास लिएको उनले बताए । नेपाली कांग्रेस कैलालीको वडा र पालिकास्तरीय अधिवेशनपछि आफ्नो टिम घोषणा गर्ने उनले बताए ।

एक सय २६ वडा रहेको कैलालीमा १८ हजार तीन सय ४८ क्रियाशील सदस्य रहेका छन् । त्यसमध्ये एक सय २५ जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?