यातायात व्यावसायीको आन्दोलन: बुटवलमा पसिना पुछ्दै, गाडी कुर्दै

बुटवल । यातायात व्यावसायीले सिण्डिकेटको विरोधमा गरेको आन्दोलनका कारण बुटवल बसपार्कमा सयौं यात्रु विचल्लीमा परेका छन् । सरकारले सिण्डिकेट फ्रीको घोषणा गरेपछि देशभरका यातायात व्यवसायीले विरोध स्वरुप आन्दोलन गरेका हुन् ।

आज शुक्रवार बुटवलबाट छुट्ने कुनै पनि सवारी साधन समयमा छुटेनन् । विरोध स्वरूप व्यावसायीले कुनै पनि सवारि साधन चल्न दिएनन् । मध्याह्न १२ बजेपछि भने क्यु फ्री सिस्टममा फाट्टफुट्ट सवारी चलेका थिए । 

बुटवलको गर्मीमा यात्रुले पसिना पुछ्दै सवारीको प्रतीक्षा गरिरहेका थिए ।

आफ्नो घर जान बिहानैदेखि बसपार्कमा आएका गुल्मीका भरत थापाले गर्मी सामान्य भएपनि धेरै यात्रु पभावित भएको बताए । ‘समयमा गाडी नचल्दा धेरै नि तनाव भयो, बिहानदेखि काउण्टर खुल्छ कि भनेर बसपार्कमै डुलेको छु, यातायात व्यावसायीले दुस्ख दिए ।’ उनले भने ।

खासगरी बुटवलबाट  छुट्ने सन्धिखर्क, तम्घास, पाल्पा जिल्लाका विभिन्न स्थानका लागि छुट्ने सवारी साधन नचल्दा यात्रुहरू प्रभावित भएका छन् ।

पाल्पाकी सीता गिरीले बिहानै केही समय गाडी चलेको त सुनेकी थिइन् तर काठमाडौंबाट छुटेको बस जाममा पर्दा घर पुगिने र नपुगिने ठेगान नभएको बताइन् । बसपार्कमा भेटिएकी उनले निधारका पसिना पुछ्दै भनिन्, ‘यसै त धेरै पैसा लिन्थे, अब त गाडी चले भने पनि धेरै पैसा असुल्ने होलान् ।’

यातायात व्यावसायीले सिण्डिकेट लागू हुनुपर्छ भन्दै आन्दोलन गर्दै आइरहेका छन् । यातायात महासंघले सिण्डिकेट हटाउन पाइँदैन भन्दै आन्दोलनका कार्यक्रम गर्ने घोषणासँगै देशभर यातायात ठप्प पार्ने घोषणा गरेका छन् । यता सरकारले जुनै हालतमा पनि सिण्डिकेट तोड्ने भन्दै आइरहेको छ । यदि यातायात व्यावसायीले विरोध गरे सरकारले समितिको बैंक खाता सिज गरिदिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?