काठमाडौंमा भेटिन थाले चिनियाँ मगन्ते, यस्तो छ नालीबेली

  काठमाडौं- काठमाडौं उपत्यकाका सडक र सार्वजनिकस्थलमा नेपाली र भारतीय मगन्ते देखिनु/भेटिनु नौलो होइन। केही समययता उपत्यकामा चिनियाँ मगन्तेसमेत भेटिन थालेको हो  ।

चिनियाँ गीत–संगीत, सारंगी  र अन्य वाद्यवादन बजाउँदै/सुनाउँदै पैसा मागिरहेका अवस्थामा चिनियाँ भेटिने गरेका छन्। सर्वसाधारणको बाक्लो चहल–पहल हुने काठमाडौंको वसन्तपुर, रत्नपार्क, बालाजु, ललितपुरको जावलाखेललगायतका स्थानमा २/३ जनाको समूह र कतै भने एक्लाएक्लै पनि पैसा संकलन गर्दै आएको पाइन्छ ।

आजको नेपाल समाचारपत्र लेख्छ-  मगन्ते हुलिया र शैलीमा देखिने/भेटिनेहरू प्रायः अधवैंशे उमेर समूहका छन्। बिहीबार दिउँसो जावलाखेल चोकमा २ जना चिनियाँ महिला शिरमा लगाइने ह्याट फैलाउँदै सडक किनारामा आगन्तुकसँग पैसाका लागि अपिल गरिरहेको भेटिए। यस्तै शैलीमा करिब ६० वर्ष उमेर नाघेका झैं देखिने अर्का चिनियाँ नागरिक न्युरोड, जुद्ध शालिक र कहिलेकाहीं रत्नपार्क आसपासमा भेटिन्छन्।

यसरी देखिने/भेटिने चिनियाँको पासपोर्ट र सरकारी अभिलेखले उनीहरूलाई मगन्ते वा भिखारी भन्दैन, उनीहरू पर्यटक हुन्। पर्यटक भिसामा नेपाल आउनेहरू नै मगन्तेका रूपमा भेटिने गरेका र त्यस्ता नागरिकको गतिविधि गैरकानुनी भएको चिनियाँ पथ प्रदर्शक ध्रुव पौडेलले  बताए । ‘स्थल नाकाबाट नेपाल भित्रिने चिनियाँ काठमाडौं र पोखरामा समेत मगन्तेका रूपमा देखिने गरेका छन्, उनीहरू जुन प्रयोजनका लागि नेपाल आएका हुन्, त्योबाहेकको गतिविधिमा देखिनु गैरकानुनी कार्य हो।’ –उनले भने ।

नेपाल भित्रिने पर्यटकबारे नियमन गर्ने निकाय अध्यागमन विभाग हो। पर्यटक भिसामा नेपाल आउने तर फरक किसिमको गतिविधिमा संलग्न हुनेमाथि निगरानी बढाएर कारबाहीको दायरामा ल्याउने गरिएको विभागका महानिर्देशक दीपक काफ्लेले  दाबी गरे । उनले भने – ‘जुन भिसा प्रक्रियामा विदेशी नेपाल आउँछन्, त्यही गतिविधि गर्न उनीहरूलाई छुट छ, तर फरक किसिमको गतिविधिमा संलग्न भएको पाइएमा तत्कालै गृह प्रशासनको सहयोगमा कारबाही प्रक्रिया बढाउने गरिएको छ।’

सो निकायकै एक अधिकारीका अनुसार केही समयअघि पोखरामा गीत–संगीत बजाएर हो–हल्ला गरेका र काठमाडौंमा माला बेच्दै हिँडेका चिनियाँलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ। रसुवास्थित अध्यागमन कार्यालयका अनुसार चिनियाँ २०÷२२ जनाको समूहमा आउँछन् र कम्तीमा १ साता र बढीमा ३ साताका हाराहारीमा स्वदेश फर्कन्छन्। नेपाल प्रवेश गर्ने क्रममा कोही पनि चिनियाँ मगन्तेको भेषमा नदेखिने सो कार्यालयका अधिकारी मानबहादुर बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?