बिर्तामोड- रक्तचन्दन तस्करीमा संलग्न फरार अभियुक्तसँग नाम थर मिलेका कारण कारागार चलान भएका झापा मेचीनगरका श्याम थापा १३ दिनपछि रिहा भएका छन् । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा पीडित मेचीनगर ६ का ३५ वर्षीय थापालाई निर्दोष सावित गर्दै चन्द्रगढी कारागारबाट बुधबार मुक्त गरिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
२०६४ जेठ २२ मा झापाको साविक टाघनडुब्बा-२ का गुलाम रसुल मियाँ मौलबीको घरबाट ठूलो परिमाणको रक्तचन्दन प्रहरीले बरामद गरेको थियो । रक्तचन्दन लुकाएको अभियोगमा मेचीनगर-१० काँकडभिट्टाका अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई झापा जिल्ला अदालतले २६ लाख ९९ हजार दुई सय जरिवाना र ६ महिना कैद सजाय हुने ठहर गरेको थियो ।
उक्त मुद्दामा नाम थर मिलेकै कारण मेचीनगरका श्याम थापा पक्राउ परेका थिए । फरार अभियुक्तको खोजी गर्ने सिलसिलामा प्रहरीले घटना भएका बेला वैदेशिक रोजगारीमा कतारमा बसेर फर्किएका निर्दोष श्याम थापालाई गत चैत ३० गते पक्राउ गरी कारागार चलान गरिएको थियो ।
निर्दोष श्यामले परराष्ट्र मन्त्रालयबाट आफू घटना भएका बेला कतारमा रहेको प्रमाण निकालेर अदालतमा पेस गरेपछि मात्र उनलाई झापा जिल्ला अदालतले बुधबार निर्दोष साबित गर्दै रिहा गरेको हो ।
‘हामीले भाइ विदेशमा हुँदाको सबै डकुमेन्ट अदालतमा बुझायौं, घटना भएको समयमा विदेश भएको प्रमाण पुगेपछि, निर्दोष हो भन्ने फैसला भएपछि भाइ रिहा भयो’, श्यामका दाजु केदार थापाले भने ।
यता जिल्ला वन कार्यालयले रक्तचन्दन तस्करीसँग सम्बन्धित मुद्दा र फाइल खडा गर्ने भएकाले वन कार्यालयको कमजोरीका कारण गलत व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विष्णु कुमार केसी बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया