विनाशकारी भूकम्प गएको तीन वर्ष पुरा, पुनर्निर्माण सूस्त

२०७२ बैशाख १२ गते ७.८ म्याग्निच्युडको भूकम्पले नेपालीको जीवनयापन देखि देशको अर्थतन्त्रसम्म हल्लाएको आज ३ बर्ष पुगेको छ । भूकम्पबाट झण्डै १० लाख निजी घरमा क्षति पुगेको थियो । तर भूकम्पबाट घरबार बिहिन भएका अधिकांश पीडितको घर अझै बनेको छैन ।

सरकारले तीन किस्तामा पाउनेगरि तीन लाख रुपैयाँ अनुदान दिएपनि अधिकांश पीडितहरुले अझै स्थायी आवास निर्माण गर्न सकेका छैनन् । निर्माण सामाग्रीको मुल्य आकासिए पनि  सरकारले नियन्त्रणमा लिन खासै चासो देखाएको छैन ।

भूकम्पमा परि ८ हजार ७ सय ९० जनाको मृत्यु भएको थियो भने २२ हजार बढी घाइते भएका थिए । भौतिक संरचनामा पुगेको क्षतिसँगै सामाजिक र मनोवैज्ञानिक असरले अहिलेसम्म भूकम्पपीडित प्रभावित छन् । भूकम्पबाट अति प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लामा भूकम्पीय असर अझै बाँकी छ ।

 
भत्केका घरको पुनर्निर्माणमा समेत निर्धारित लक्ष्य अनुसार काम हुन सकेको छैन ।  अनुदानका लागि सम्झौता गरी पहिलो किस्ता लिनेको तुलनामा घर बनाउनेको संख्या कम छ । भूकम्पबाट झण्डै १० लाख निजी घरमा क्षति पुगेको थियो । लाभग्राहीको सुचिमा भने ७ लाख ६७ हजार परिवार परेका थिए ।

करिब साढे सात हजार विद्यालय, एक हजार दुई सय स्वास्थ्य संस्था र साढे सात सय सांस्कृतिक सम्पदामा भूकम्पले क्षति पु¥याएको थियो । तर, तीन वर्षमा एक लाख निजी घर बने पनि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा तथा सरकारी भवनहरुको पुनर्निर्माण हुन सकेको छैन । 

भुकम्पोत्तर पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएर काम थालेको दुई वर्ष ४ महिनामा तीन प्रमुख कार्यकारी अधिकृत फेरिइसकेका छन् । प्राधिकरणमा दलीय राजनीति हावी हुँदा पुनर्निर्माण चुस्त गतिमा अघि बढ्न नसकेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?