काठमाडौं । नेपालीहरूको महान चाड दशैँ सुरु हुनै लाग्दा पनि बजारमा अझै चहलपहल देखिएको छैन ।
दशैँ सुरु हुन एक साता पनि बाँकी छैन । तर बजारमा दशैँको रौनकता नै आएको छैन । कोरोना संक्रमणका कारण विभिन्न क्षेत्र प्रभावित भए । कोरोना बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सरकारले पटक–पटक गरी लकडाउन तथा निषेधाज्ञा गरेपछि व्यापार व्यवसाय पूर्ण रूपमा ठप्प भयो । यस्तो अवस्थामा बजारमा चहलपहल हुने कुरै भएन ।
बजार चलायमान नहुँदा व्यवसायी तथा मजदुर सबै प्रभावित भएका छन् । कोरोना संक्रमणका कारण कुनै पनि व्यापार व्यवसाय पूर्ण रूपमा लयमा फर्कन सकेका छैनन् । कोरोना संक्रमण बाँकी नै भएका कारण दशैँजस्तो ठुलो चाडमा पनि बजार सुनसान छन् । दशैँले व्यापारीदेखि मजदूरसम्ममा उत्साह जगाउने भए पनि यतिबेला भने बजारमा उत्साह छैन ।

काठमाडौँ उपत्यकाका मुख्य मानिएका बजार पनि सुनसान छन् । सर्वसाधारणको भीडभाडले पाइला टेक्न नसकिने ती क्षेत्र अहिले व्यवासयीलाई ग्राहक कुरेर बस्न बाध्य छन् ।
काठमाडौंका मुख्य व्यापारिक केन्द्र मानिएका स्थानहरूमा पनि अहिलेसम्म चहलपहल सुरु नहुँदा व्यवसायीहरू निराश भएका छन् । अघिल्ला वर्षहरूमा दशैँका लागि करिब एक महिनाअघिदेखि चहलपहल सुरु हुने भए पनि यसापलि भने त्यस्तो चहलपहल नभएको व्यवसायीको गुनासो छ ।
‘दशैँ आइसक्दा पनि बजारमा कुनै चहलपहल छैन’, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवालले भने । अघिल्ला वर्षहरूमा दशैँको व्यापार व्यवसायले लगभग वर्षभरिको व्यवसायबराबरको आम्दानी हुने गथ्र्याे । खासै व्यवसाय नहुनेहरूको पनि दशैँका बेला व्यवसाय हुने गथ्र्याे । तर यसपालि भने बजार सुनसानको अवस्थामा भएकाले व्यवसायीहरू मर्माहत भएको उनले बताए ।

कोरोना सुरु हुनुभन्दा पहिले न्यूरोड, महाबौद्ध, नयाँ तथा पुरानो बसपार्क, रत्नपार्क, असन, क्षेत्रपाटी, कलंकी, कोटेश्वरलगायतका विभिन्न क्षेत्रको बजारमा निकै चहलपहल हुने गथ्र्याे । यो क्षेत्रबाट नेपालका प्राय बजारमा लत्ताकपडा, इलेक्ट्रोनिक बस्तुसम्म पुग्ने गरेको छ ।
यी क्षेत्रमा प्राय भीडभाड भइरहने भए पनि दशैँ, तिहारलगायत चाडपर्वहरू आउनुभन्दा १ महिनाअघिदेखि भने विशेष भीड लाग्ने गथ्र्याे ।
देशभरका खुद्रा व्यवसायीहरूले समेत दशैँका लागि भन्दै लत्ता कपडालगायतका वस्तुहरू लैजाने भएकाले यो बेला निकै भीडभाड हुने गथ्र्याे । यी स्थानहरू दशैँको समयमा सबैभन्दा बढी बिक्री हुने तयारी लत्ता कपडा, जुत्तालगायतका सामानको होलसेल मार्केटका रूपमा परिचित छन् । यी स्थानबाट देशैभरिका खुद्रा व्यपारीहरूले सामान लैजाने गर्छन् ।
ठूला मल पनि सुनसान
होलसेल पसल मात्रै होइन, उपत्यकाका ठूला–ठूला सपिङ मलहरूमा पनि विगतका दिनहरूमा जस्तो रौनकता आएको छैन । अघिल्ला वर्षहरूमा मलहरूमा पनि दशैँ आउनुभन्दा एक महिनाअघिदेखि नै निकै चहलपहल हुने गथ्र्याे । तर यसपालि भने मलहरू पनि ग्राहक कुरेर बस्न बाध्य भएको अध्यक्ष कटवाल बताउँछन् ।

उत्तरी नाकामा सामान रोकिँदा थप समस्या
त्यति मात्रै होइन उत्तरी नाकामा दशैँका लागि ल्याइएका सामानहरूका कन्टेनर रोकिएकाले पनि बजारमा सामान प्रशस्त मात्रामा छैनन् । बढी चहलहल हुने बजारमा सामान नभएकाले पनि कम चहलपहल भएको व्यवसायी बताउँछन् ।
‘उत्तरी नाकामा सामान रोकिदा दशैँको बजार प्रभावित भएको छ’, उनले भने । कोरोनाको संक्रमणले लामो समयसम्म बजार प्रभावित भयो । व्यवसायीहरूले घरजग्गा समेत धितोमा राखेर व्यवसाय चलाइरहेका बेला व्यवसाय नचल्दा व्यवसायी पलायन भएको कटवालको भनाइ छ । तर केही दिनअघि उत्तरी नाका खुलिसकेकाले बजारमा चहलफलह बढ्ने आकलन गरिएको छ ।
कहिले फर्किएला बजार लयमा ?
कोरोनाको पहिलो लहरबाटै व्यवसायीहरू थला परिसकेका थिए । कोरोनाका कारण लामो समय बजार बन्द हुँदा व्यवसायीहरूको उठिबास नै लाग्यो । कयौँ व्यवसायीहरू व्यवसाय नै छोडेर पलायन समेत भए ।
कोरोनाको पहिलो लहर सकिन नपाउँदै सुरु भएको दोस्रो लहरले व्यवसायीहरूको अवस्था झन् विकराल बन्दै गइरहेको छ । घरजग्गा धितो राखेर व्यवसाय सुरु गरेका व्यवसायीहरू घर न घाटको भएका छन् ।
अब केही समय कोरोना संक्रमण रहिरहने र व्यापार व्यवसायको अवस्था यस्तै रहने हो भने लयमा फर्कन त के व्यवसाय टिक्न पनि धौधौ हुने तथा थप व्यवसायीहरू पलाएन हुने कटवाल बताउँछन् ।
पछिल्लो समय कोरोना संक्रमण कम हुँदै गएको छ । संक्रमण कम भएसँगै व्यापार व्यवसाय लयमा फर्किने आकलन गरिएको छ । कोरोना हट्यो भने केही समयमा व्यवसाय लयमा फर्किन सक्छ’, उनले भने ।
अघिल्ला वर्षहरूमा जस्तो प्रशस्त मात्रामा काम नपाएपछि भारी बोक्ने भरियालगायत मजदुरहरूको दैनिकी समेत दयनीय बन्दै गइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया