रोकिएन अण्डामाथिको ब्रह्मलुट : सरकार भन्छ अनुगमन गर्दै छौँ

काठमाडौं । अण्डामा भएको मनपरी मूल्य वृद्धि रोकिएको छैन ।

सरकारको फितलो र कमजोर अनुगमनका कारण अण्डामाथिको ब्रह्मलुट नरोकिएको हो । अहिले होलसेल पसलदेखि खुद्रा पसलेहरूले अण्डाको कारोबारमा बह्मलुट नै मच्चाएका छन् ।

अण्डा उत्पादक कम्पनीहरूले प्रतिक्रेट अण्डा ४०० मै उपलब्ध गराएका छन् । तर उपभोक्ताले भने ४ सय ६०/७० रुपैयाँ तिर्न बाध्य छन् । किन बढिरहेको छ यसरी अण्डाको मूल्य ? उत्पादक कम्पनीहरूले मूल्य बढाएकै हुन् त ?

उत्पादनमा आएको कमी तथा माग उच्च हुँदा पनि अण्डको भाउ बढ्न मदत पुगेको छ । तर जसरी मूल्य बढेको छ, त्यसरी नबढेको अण्डा उत्पादक संघले जनाएको छ । ‘होलसेल ४ सय देखि ४१० रुपैयाँसम्म छ, बजारमा भनेजस्तो मूल्य बढेको छैन’, अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले भने ।

झण्डै एक महिनाअघि खुद्रा बजारमा अण्डाको मूल्य १२ रुपैयाँमा प्रतिगोटा थियो । केही समयअघि १८ देखि २० रुपैयाँमा पनि प्रतिगोटा बिक्री भइरहेको थियो । अहिले होलसेलमै मूल्य बढाएपछि खुद्रा पसलेले फेरि मूल्य बढाउने सम्भावना छ ।

उपभोक्तावादी अधिकारकर्मीहरू कर्मकाण्डी मात्रै

पछिल्लो समय अण्डाको मूल्यमा चर्काे वृद्धि भएको तर सरकारले नियन्त्रण गर्न नसकेको भन्दै आइरहेका उपभोक्तावादीहरू कर्मकाण्डी मात्रै भएका छन् । उपभोक्ताका हकहितका लागि आफूहरू हरपल प्रयास गरेको बताए पनि उनीहरूको काम भने कर्मकाण्डी मात्रै देखिएको छ ।

उनीहरूले उपभोक्ताका हकहितका लागि प्रयास गरेको बताए पनि उपभोक्ताले राहत महसुस गरेका छैनन् । तर उपभोक्ताका पक्षमा लड्दै आएका छौँ भन्न भने छुटाउँदैनन् उपभोक्तावादी अधिकारकर्मीहरू । अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारको बेवास्ताका कारण नै उपभोक्ता सधैँ मारमा पर्ने गरेको बताए ।

केही व्यवसायीहरूको मिलेमतोमा कार्टेलिङ गरी अण्डाको मूल्य तोकिएको भन्दै आफूहरूलाई मान्य नहुने उनको भनाइ छ । सरकारले बजार अनुगमन प्रभावकारी नहुँदा अण्डकाको मूल्यमा चलखेल भइरहेको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।

‘यो व्यवसायीहरूको चलखेल हो । सरकारले कारबाही गर्नुपर्छ’, उनले भने । सरकारको फितलो कानुनी व्यवस्था र अनुगमनको फाइदा उठाउँदै व्यवसायीहरूले मनोमानी ढंगले मूल्य वृद्धि गरेको उनको ठहर छ ।

अहिले बजारमा दानाको मूल्य पनि बढेको छैन । तर कुखुरा, दाना, चल्ला तथा अण्डा उत्पादक संस्था र बजार मूल्य तोक्ने समूहले सरकारबाटै संरक्षण पाएकाले मनपरी मूल्य वृद्धि गरेको तिमल्सिनाको आरोप छ ।

आफूसँग भएको अण्डा कोल्ड स्टोरमा लुकाएर बजारमा अभाव सिर्जना गरेर मूल्य बढाउने काममा व्यवसायी लागेको उनको ठहर छ । सरकारले अनुगमन गरेर यथाशीघ्र कारबाही नगर्ने हो भने व्यवसायीहरूको मनोमानी अझै बढ्ने तिमल्सिनाको आकलन छ ।

सरकारको अनुगमन नै फितलो

उपभोक्ता अधिकारकर्मीहरूजस्तै सरकार पनि कर्मकाण्डी मात्रै भएको छ । बजारमा उपभोग्य वस्तुको मूल्य आकाशिँदा पनि सरकारको टाउको दुखेको छैन ।

केही समयअघि विचौलियका कारण बढेको अण्डाको मूल्य चौतर्फी रूपमा विरोध भएपछि केही मात्रामा घटेको थियो । तर अहिले फेरि होलसेल पसलहरूले मूल्य वृद्धि गरेका छन् ।

सरकारको अनुगमन र कारबाही फितलो भएका कारण उद्योगी तथा व्यवसायीहरूले मनपरी मूल्य बढाउने र कालोबजारी गर्ने काम रोकिएको छैन । तर सरकारलाई भने वास्ता छैन । बजारमा चरम कालोबजारी र मूल्य वृद्धि भएर त्यसको विरोधमा आम उपभोक्ता उत्रिएपछि मात्रै सरकारले अनुगमन गरेको कर्मकाण्ड गर्दै आएको छ ।

अण्डको मूल्यका विषयमा सरकारले छानबिन तथा बजार अनुगमन गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । ‘अण्डाको भाउका विषयमा हामी बजार अनुगमन गरिरहेका छौँ’, विभागका प्रवक्ता शिवराज सेढाईँले भने ।

बजारमा कलाबजार तथा कुनै पनि दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएको पाइएमा विभागको सम्पर्क नम्बर ९८४१३८२३०२ मा सम्पर्क गर्न समेत प्रवक्ता सेढाईँले आग्रह गरेका छन् । कुनै पनि व्यवसायीहरूले उपभोक्ता ठग्ने काम गरेको पाइएमा सरकारले कुनै पनि बहानामा छुट नदिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?