जनमोर्चामा विवाद : सुदूरपश्चिममा दुई कार्यसमिति

धनगढी । राष्ट्रिय जनमोर्चा पार्टी सुदूरपश्चिम प्रदेश कमिटीमा विवाद सुरु भएको छ ।सुदूरपश्चिममा प्रदेश कमिटीदुईवटा गठन गरिएपछि पार्टीमा विवाद सुरु भएको हो ।

प्रदेशमा पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज लालबहादुर जाग्रीको अध्यक्षतामा दुई दिने भेला गरी लोकेन्द्र लम्सालको अध्यक्षतामा प्रदेशस्तरीय समिति पुनः गठन गरिएको छ ।

केही महिनाअघि केन्द्रीय ममिटीले प्रदेशमा नन्दराज भट्टको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको थियो । सो ममिटीमा रहेका अध्यक्ष भट्टबाहेक सबै पदाधिकारी तथा कार्यकर्ता भेला भई अर्को कमिटी गठन गरिएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
अध्यक्ष लम्सालले भने, ‘हामीले पार्टीको विधान र कानुनी व्यवस्थाअनुसार प्रदेश समितिको भेलाबाट निर्वाचन गरेका हौँ । हाम्रो पक्षमा पार्टीका ९० प्रतिशत कार्यकर्ताहरूको सहमति रहेको छ । केन्द्रीय ममिटीको भन्दा पनि कार्यकर्ताको मतको कदर गर्नुपर्छ ।’

उनले प्रदेशमा रहेका पार्टीका विभिन्न जनवर्गीय समितिका पदाधिकारीहरू आफ्नो अध्यक्षतामा गठन भएको ममिटीको पक्षमा रहेको दाबी गरे । उनले भने, ‘वैचारिक रूपमा पार्टीभित्रको फरक मतको राजनीतिलाई स्वीकार गर्दै अवलम्बन गर्नेछ । अब सुदूरपश्चिममा मात्र नभई देश, प्रवासमा पनि पार्टी केन्द्रका दक्षिणपन्थी, संकीर्ण र अकर्मण्य कार्यको विरोध गर्दै अगाडि बढ्नेछौँ ।’

नन्दराज भट्टको ममिटीमा लम्साल उपाध्यक्ष रहेका थिए । जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टको सुदूरपश्चिम प्रदेश पकड क्षेत्र हो । उनको पक्षमा रहेका सबै कार्यकर्ताहरू अहिले विरोधमा उत्रिएका छन् । प्रदेशको धनगढीमा मंगलबार र बुधबार गरी दुई दिनसम्म कार्यकर्ता भेला गरी नयाँ कमिटीचयन भएपछि उनी कमजोर बन्न लागेका छन् ।

पार्टीले मंगलबार नै लम्सालको कार्यसमितिबाट सचिवमा चयन भएका लक्षीराम आचार्यलाई कारबाही गरिएको जानकारी दिएको थियो । पार्टीको अनुशासनविपरीत काम गरेको भन्दै उनलाई कारबाही गरिएको महासचिव मनोज भट्टले जानकारी दिए ।

प्रदेश अध्यक्ष नन्दराज भट्टले दुई दिन भेला गरेर गठन गरिएको कमिटीवैधानिक नभएको बताए । उनले भने, ‘केन्द्रीय कार्यसमितिले मेरो अध्यक्षतामा रहेको ममिटीलाई कार्यकारी समिति भनेको छ । अहिले गठन गरेको कार्यसमिति अवैधानिक हो ।’

‘२०७८ भाद्र ९ मा धनगढीमा राष्ट्रिय जनमोर्चाको नामबाट गरिएको कथित प्रदेशस्तरीय भेलाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, महासचिव भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त कथित प्रदेशस्तरीय भेला पार्टीको निर्णयबाट गरिएको, भएको होइन र छैन । त्यसैले उक्त भेला र भेलाबाट गठित कमिटी अवैध हो ।’ उनले अवैध भेला र निर्माण गरिएको अवैध समितिको भ्रममा नपर्न सबै प्रदेशस्तरीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा अपिल गरे । उनले सो भेला र समिति अवैध भएकोले खारेज गरिएको जानकारी दिए ।

कारबाही परेकाहरुले पार्टीका कार्यकर्ता झुक्याए : अध्यक्ष भट्ट
राष्ट्रिय जनमोर्चा पार्टी सुदूरपश्चिम प्रदेशका अध्यक्ष नन्दराज भट्टले पार्टीले कारबाही गरेका व्यक्तिहरूले कार्यकर्तालाई झुक्याएर भेला गरेको बताए ।

उनले भने, ‘हाम्रो पार्टीमा विवाद छैन । केही पार्टीको अनुशासनविपरीत काम गरिरहेका व्यक्तिहरूलाई पार्टीले कारबाही गरेपछि कार्यकर्तालाई भ्रममा राखी भेला गरेका हुन् ।’ उनले सो भेलालाई केन्द्रीय ममिटीले मान्यता नदिएको बताए ।

फरक मत राखेकै कारण मलाई कारबाही गरियो : आचार्य
लामो समयदेखि जनमोर्चा पार्टीमा लागेका लक्षीराम आचार्यले पार्टीले आफूलाई कारबाही गरेकोमा विश्वास नभएको बताए ।

अखिल क्रान्तिकारीबाट राजनीतिमा होमिएका आचार्यले आफूले फरक मत राखेकै आधारमा पार्टीले कारबाही गरेको बताए । उनले भने ‘बुटवलमा भएको भेलामा मैले पार्टी गलतबाट अघि बढिरहेको भन्दै मैले सुझावसहितको पत्र बुझाएको थिए । मेरो त्यो फरक मतकै कारण पार्टीले मलाई कारबाही गर्छ भन्ने विश्वास थिएन ।’

उनले पार्टी सुदृढीकरण र पार्टीलाई बलियो बनाउन दिइएको सुझावको सम्मान हुनुभन्दा उल्टै कारबाही गर्नु अनुचित निर्णय रहेको बताए । उनले पार्टीभित्र फरकमतका आधारमा कार्यकर्तालाई जिम्मेवारी मुक्त गर्ने, घटुवा गर्ने, एक्लो बनाउने, निलम्बन गर्ने पार्टीबाट निष्कासन गरी शत्रुतापूर्ण व्यवहार गर्नेलगायतका गतिविधि सच्चिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?