खाने तेलमा फेरि चलखेल : उपभोक्तालाई थेग्नै धौधौ

एक सातायता खानेतेलको मूल्य फेरि बढ्न थालेको छ । चाडबाड नजिकिँदै गर्दा उद्योगी व्यवसायीले विभिन्न बहानामा मूल्य वृद्धि गर्न सुरु गरेका छन् ।

नेपालीहरूको ठूला चाड दशैँ र तिहार नजिकिँदै छन् । यिनै चाडलाई लक्षित गर्दै तेलको मूल्य वृद्धि गर्न व्यवसायीले विभिन्न प्रपञ्च रचेका छन् । यसअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै मूल्य बढाएका उद्योगी तथा व्यवसायीहरूले अहिले निकासी बढेको भन्दै मूल्य बढाउन थालेका हुन् ।

पछिल्लो समय उद्योगी व्यवसायीले भारततर्फ निकासी बढेको बहानामा खानेतेलको मूल्य बढाउन फेरि चलखेल सुरु भएको हो । गत तिहारपछि बढ्न थालेको तेलको मूल्य पटक–पटक बढिरहेको छ । तेलको मूल्यमा चलखेल भएको भन्दै केही समयअघि चौतर्फी दबाब आएपछि प्रतिलिटर १० रुपैयाँ घटेको तेलको मूल्य फेरि बढ्न थालेको हो । अहिले उद्योगीहरूले प्रतिलिटर २० रुपैयाँको हाराहारीमा मूल्य बढाएका छन् ।

यस्तो छ बजार मूल्य

साता दिनमै प्रतिकार्टुन (१० लिटर) एक सय रुपैयाँले मूल्य बढेको छ । अहिले बजारमा तोरीको तेल प्रतिकार्टुन ३ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अन्य तेलको तुलनामा तोरीको तेल झन्डै एक हजार रुपैयाँले महँगो छ ।

त्यस्तै सोयाबिन (भटमास)को तेल कार्टुनको २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सूर्यमुखीको तेल प्रतिकार्टुन २ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

नेपालमा उत्पादन हुने मुख्य खानेतेलहरू सनफ्लावर, तोरी, सोयाविन, वनस्पति, तथा बदामलगायत रहेका छन् । तर नेपालमा अधिकांश मानिसले प्रयोग गर्ने खानेतेल भनेको सोयाबिन, सनफ्वार, तोरीलगायत रहेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्च पदार्थको मूल्य बढेको तथा डलरको भाउ पनि बढेकाले तेलको मूल्य बढेको नेपाल वितरक संघका अध्यक्ष राजेन्द्र सिम्खडाले बताए । ‘डलरको भाउ बढेकाले तेलको कच्चा पदार्थ पनि भाउ बढेको भन्ने कुरा आएको छ’, उनले भने । त्यसका साथै भारततर्फको निर्यातले पनि असर पारेको हुनसक्ने अध्यक्ष सिम्खडाको आकलन छ ।

महँगी र कोरोनाको चपेटामा उपभोक्ता

अहिले बजारमा तरकारी, फलफूल, गेडागुडी, खानेतेललगायतका दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढेको छ । होससेलमा मूल्य नबढे पनि खुुद्रा पसलेहरूले पसलै पिच्छे मूल्य बढाएका छन् । पछिल्लो समय तरकारी तथा फफूलको मूल्य घटेको भए पनि बिचौलिया हाबी हुँदा उपभोक्ता चर्काे मूल्य तिर्न बाध्य छन् ।

एकातिर उपभोक्ता कोरोनाका मारमा परेका छन् भने अर्कातिर महँगीको चपेटामा । कोरोनाका कारण आम मानिसको आम्दानीको स्रोत घटेको छ । कयौँको तलब कटौतीदेखि रोजगारी समेत गुमेको छ । यस्तो मौकामा भएको मूल्य वृद्धिका कारण उपभोक्ता थेग्नै नसक्ने अवस्थामा पुगेका छन् । चाडबाड नजिकिँदै गर्दा बढेको महँगीका कारण उपभोक्ताले राम्रोसँग चाडबाड पनि बनाउन पाउँदैनन् कि भन्ने आशंका उब्जिएको छ ।

उपभोक्तावादी अधिकारकर्मीको रवाफ मात्रै

उपभोक्ताकर्मीले निरन्तर रूपमा उपभोक्ताका पक्षमा आवाज उठाइरहेको बताए पनि उपभोक्ताका पीडा भने कम भएका छैनन् । चाडबाड नजिकिँदै गर्दा तेलमा बढेको मूल्यका कारण उपभोक्ता मारमा परेको उपभोक्ताकर्मी माधव तिमल्सिना बनाउँछन् । सरकारको फितलो अनुगमनका कारण बजार अनुगमन प्रभावकारी नभएको उनको भनाइ छ ।

‘सरकारको बजार अनुगमन नै फितलो छ’, तिमल्सिनाले भने । अहिले ६० प्रतिशतभन्दा बढी तेल भारत निर्यात भएको भने पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ कति छ भनेर अनुगमन गर्नु पर्ने अवस्था भएको उनले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको हो कि होइन भन्ने हेर्नुपर्छ’, उपभोक्ताकर्मी तिमल्सिनाले भने ।

सरकारको चाडबाडकेन्द्रित फितलो अनुगमन
सरकारले जब–जब चाडबाड नजिकिन्छ, तब–तब मात्रै अनुगमनलाई केही तीव्र बनाएको हुन्छ । अन्य सामान्य बेलामा सरकारले अनुगमन प्रभावकारी ढंलले गरिरहेको हुँदैन । जसले गर्दा बजारमा मूल्य वृद्धि गर्ने तथा कलोबजारीहरूले खेल्ने मौका पाइरहेका छन् ।

तर सरकारले भने बाह्रै महिना प्रभावकारी रूपमा बजार अनुगन गरेको जनाएको छ । ‘हामीले निरन्तर बजार अनुगमन गरिरहेका छौँ’, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईले भने, ‘निरन्तर अनुगमन गरेका कारण बजार असन्तुुलन गर्नेहरूलाई कारबाही गर्न सफल भएका छौँ ।’


प्रवक्ता सेढाइका अनुसार साउन महिनामा मात्रै १८० वटा फर्महरूमा अनुगमन भएको छ । जसमा ७० वटा फर्मलाई ६ लाख ९० हजार जरिवानासहित कारबाही गरिएको छ । त्यस्तै ९ वटा फर्मको कारोबार नै बन्द गरेर छानबिन गरिँदै छ भने ६२ वटा फर्मलाई विभागमै बोलाएर समेत छानबिन गरिएको छ ।

तेलको मूल्यको सवालमा पनि विभागले विस्तृत छानबिन गर्ने सेढाईको भनाइ छ । लागत मूल्यभन्दा बढी लिएको खुल्न आएमा तत्काल कारबाही गर्ने समेत उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?