काठमाडौं। हास्य कलाकार सन्दीप क्षेत्री लोकप्रिय नेपाली एप हाम्रो पात्रो’को ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन्।
हाम्रो पात्रोले बुधबारदेखि लागू हुनेगरी क्षेत्रीलाई आफ्नो ब्रान्ड एम्बेस्डर बनाएको हो ।
हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए ।
‘कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको छ,’ उनले भने, ‘त्यसको व्यावसायिक प्रवर्द्धनमा उहाँको साथ खोजेका हौँ ।’
त्यस्तै हास्य कलाकार सन्दीप क्षेत्रीले हाम्रो पात्रो आम नेपालकीको जनजीवन सहज बनाउने एप भएको उल्लेख गर्दै यससँग जोडिन पाउनु आफ्नो लागि उत्साहपूर्ण विषय भएको बताए । ‘मेरो मोबाइलमा डाउनलोड भएको पहिलो कुनै नेपाली एप थियो भने त्यो हाम्रो पात्रो नै हो’, उनले भने, ‘मैले आफ्नो मोबाइलमा हाम्रो पात्रो डाउनलोड गरेको धेरै वर्षपछि मात्र यो एप बनाउने मान्छे मेरो आफ्नै साथी हो भन्ने कुरा थाहा पाएको थिएँ । त्यसपछि नै सँगै केही गरौँ भनेर यो सहकार्य सुरु गरेका हौँ ।’

एउटै एपबाट अनेक सेवा लिन सकिने पहिचान बनाएको हाम्रो पात्रोले थप नयाँ सेवाहरू समेत ल्याउने तयारी गरिरहेको छ । कम्पनीले हालै मात्र म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज’ ल्याएको छ । बेटा भर्सनमा रहेको यो सुविधा अब चाँडै पूर्ण रुपमा आउनका साथै
आईओएसमा समेत उपलब्ध हुने हाम्रो पात्रोले जनाएको छ।
त्यस्तै निकट भविष्यमा लेनदेन तथा खर्चको विवरण राख्न सकिने ‘हिसाब किताब’, परिकार बनाउन सिकाउने ‘हाम्रो भान्सा’ र तस्बिर तथा कागजातमा भएका अक्षरलाई युनिकोडमा उतार्न सघाउने ‘हाम्रो अक्षर’ जस्ता सुविधाहरु थप गर्ने तयारी भइरहेको संस्थापक उप्रेतीले जानकारी दिए । सन् २०१० मा सुरु भएको हाम्रो पात्रोअन्तर्गत ‘हाम्रो किबोर्ड’, ‘हाम्रो डिक्सनरी’, ‘हाम्रो लुँडो’, ‘कल ब्रेक एन्ड जुटपत्ती’, ‘हाम्रो म्यागेजिन’ लगायतका एप समेत सञ्चालनमा रहेको हाम्रो पात्राले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया