बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा लैजाने तयारी गरेको छ । समितिले सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको हकप्रदमा समेत रोक लगाएर मर्जरमा लैजाने तयारी गरेको हो ।
बीमा कम्पनीहरुको मर्जर र पुँजी वृद्धिको योजना केही वर्षदेखि नै चल्दै आएको छ । समितिले क्रस होल्डिङ भएका संस्थाहरुको समेत मर्ज गराउन अध्ययन गरेको थियो । पछिल्लो समय बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्न लागेको समितिले हकप्रद रोकेर अन्य उपाय अपनाउन भनेको छ । ‘पुँजी वृद्धि गर्दा हकप्रदभन्दा अन्य उपाय अपनाऊन् भन्ने उद्देश्यले रोकेका हौँ ।’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ।

बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने सिलसिलामा हकप्रदको विषय आए पनि तत्कालका लागि बीमा कम्पनीहरुसँग पँुजीको ‘ब्याकअफ’ राम्रो भएकाले यसको आवश्यकता नभएको समेत कार्यकारी निर्देशक पौडेलले बताए । उनको ‘अन्य उपाय अपनाउने’ भन्ने भनाइले नै समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्दा मर्जरबाहेक अन्य उपाय नअपनाउनु भन्ने स्पष्ट हुन्छ ।
किन रोकियो हकप्रद ?
आर्थिक वर्ष २०७२/७३ मा नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरुको पुँजी वृद्धि गर्दा हकप्रद सेयर निष्काशन गरेर वा मर्जरमा गरेर या दुवै तरिकाबाट गर्नसक्ने व्यवस्था गरेका थिए ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत दुई वर्षभित्र बैंक तथा वित्तीय संस्थाहरुलाई तोकिएको समयमा पुँजी पु-याउन समेत निर्देशन दिएको थियो । यसरी छोटो समयमा पुँजी वृद्धि गर्दा बजारमा हकप्रदको बाढी आयो । सञ्चालनमा रहेका अधिकांश बैंक तथा वित्तीय संस्थाले धमाधम हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गरे । जसका कारण सेयर बजार अव्यवस्थित बन्यो ।
बजारमा सेयर फालाफाल भएपछि बिक्री नभएर लिलामीमा राख्दा समेत बिक्री नहुने अवस्था सिर्जना भयो । जसका कारण अधिकांश बैंक तथा वित्तीय संस्थाका सेयर मूल्य अवमूल्यन भए । राष्ट्र बैंकले गरेको पुँजी वृद्धिको योजना राम्रो भए पनि हकप्रद निष्काशन बजारका लागि फाइदाजनक साबित भएन ।
बीमा समितिले पनि पुँजी वृद्धिका लागि हकप्रद निष्काशन गर्न दिँदा बीमा कम्पनीहरुको सेयर अवमूल्यन हुने र बजार अव्यवस्थित हुने त होइन भन्ने आशंका कारण पनि हकप्रद निष्काशनमा रोक लगाएको हो । सेयरबजारमा हालै भएको चलखेललाई नजिकबाट नियालेको समितिले बीमा कम्पनीहरुको सेयरमा कुनै प्रकारको चलखेल हुन नदिन पनि हकप्रद निष्काशन रोकेको हो ।
गत चैत १७ अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन गरेको थियो । तर त्यसअघि नै अजोडको सेयर मूल्य अस्वाभाविक रुपले बढिरहेको थियो । हकप्रद निष्काशन गर्नुअगावै मूल्य बढ्नुले सूचना चुहाएको आशंका गरिएको थियो । जानकारी नै नदिकन हकप्रदको एजेन्डा साधारणसभामा लगेको भन्दै बीमा समितिले हकप्रद जारी गर्नै रोक लगाएको थियो । त्यसबेला अजोडले ५० प्रतिशत हकप्रद निष्काशन गर्र्न प्रस्तावसहित वार्षिक साधारणसभा डाकेको थियो ।
समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि तयारी गरिरहँदा यता बीमा कम्पनीहरुले भने पछि समस्या नआओस् भनेर पुँजी वृद्धिका लागि धमाधम हकप्रद जारी गरिरहेका थिए । तर समितिले हकप्रदमा ब्रेक लगाएपछि बीमा कम्पनीहरुले हकप्रदको सूचना निकाल्न बन्द गरेका छन् ।
आन्तरिक रुपमा पुँजी वृद्धि गरिरहेका बीमा कम्पनीहरु भने बीमा समितिले हकप्रद रोकेको बारे अन्योलमा छन् । ‘खै लिखित रुपमा सूचना आएको छैन ।’ नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले भने, ‘यदि समितिले हकप्रद रोकेकै भए पनि नियामक निकायको निर्देशन मान्नै पर्छ, हामी मान्न तयार पनि छौँ ।’ समितिले आफूलाई उचित लागेर नै बन्द गरेको भन्दै नियामक निकायको निर्देशन मान्ने उनको भनाइ थियो ।

क्षेत्रीलाई जस्तै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेललाई पनि समितिले हकप्रद रोकेको बारे स्पष्ट जानकारी छैन । आफूले पनि मिडियामार्फत थाहा पाएको उनले बताए ।

हकप्रद पुँजी वृद्धिका लागि भएकाले यसले बीमा कम्पनीहरुको पुँजी वृद्धि प्रभावित हुने उनको भनाइ थियो । ‘समितिले हकप्रदमा रोक लगाएको हो भने बीमा कम्पनीहरुको पुँजी वृद्धि प्रभावित हुन्छ’, सीईओ पौडेलले भने । लिखित रुपमा समितिको निर्देशन नआएकाले हकप्रद निष्काशनको तयारीमा रहेका केही निश्चित कम्पनीहरुको हकमा लागू हुने उनको आंकलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया