प्रहरीले गरायो राजस्व संकलनमा ३३ प्रतिशतले वृद्धि

लोकपथ
70
Shares

काठमाडौं । नेपाल प्रहरीले कानुनविपरीतका क्रियाकलापविरुद्धको कारबाहीबाट आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आवमा ३३ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेकामा गत आवमा दुई अर्ब ९० करोड रुपैयाँ सङ्कलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको सक्रियताका कारण राजस्व संकलनमा वृद्धि भएको जानकारी दिए । उनका अनुसार चाँदी बरामदबाट भने १०० प्रतिशत नै बढी राजस्व संकलन भएको छ । अवैध मुद्रावापत झण्डै ७०० प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको प्रवक्ता कुँवरले जानकारी दिए ।

यसैगरी सुन बरामदबाट ३३ दशमलव ७५ प्रतिशतले राजस्व संकलन बढेको छ । ट्रफिक कारबाहीमा समेत ३० दशमलव ७६ प्रतिशतले बढेको छ । अवैध सुन बरामदबाट प्रहरीले अघिल्लो वर्ष २० करोड ३० लाख राजस्व संकलन गरेकामा गत वर्ष २७ करोड १५ लाख रुपैयाँ संकलन गरेको छ । अवैध मुद्रामा अघिल्लो वर्ष ९९ लाख राजस्व संकलन गरेकामा गत आर्थिक वर्षमा  ७ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

यस्तै गत आर्थिक वर्षमा अवैध सामान बरामदबाट ८५ करोड राजस्व संकलन भएको छ । नेपाल प्रहरीतर्फ गत आर्थिक वर्ष २८ अर्ब ३६ करोड बजेट विनियोजन भएकामा राजस्व संकलन सहायताका आधारमा १० दशमलब २५ प्रतिशत योगदान प्रहरी कारवाहीबाट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?