काठमाडौं । चीनमा मानव जीवनका लागि खतरनाक मानिएको अर्को एउटा भाइरस फेला परेको छ । नयाँ भाइरसका संक्रमितको मृत्यु दर कोरोनाभाइरसको तुलनामा निकै बढी रहने विज्ञहरुको भनाइ छ ।
चीनको राजधानी बेइजिङमा ‘मङ्की बी’ भाइरस फेला परेको हो । उक्त भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
चिनियाँ अखबार ग्लोबल टाइम्सले उक्त भाइरसबाट पहिलो मृत्युको पुष्टि गरेको हो । उक्त अखबारका अनुसार बेइजिङमा जनावरको एक चिकित्सकमा उक्त भाइरसको संक्रमण पुष्टि भएको हो । तर ती व्यक्तिको सम्पर्कमा आएका मानिसहरु भने अहिलेसम्म पूर्ण रुपमा सुरक्षित रहेको बताइएको छ ।
५३ वर्षका पशु चिकित्सक एक संस्थामा ‘नन् ह्यूमन प्राइमेट्स’ बारे अनुसन्धान गर्दै थिए । उनले गत मार्च महिनामा दुई मृत बाँदरमाथि अनुसन्धान गरेका थिए । त्यसको एक महिनापछि उनमा बान्ता हुने प्रारम्भिक लक्षण देखिएको थियो ।
‘चाइना सीडीसी’ पत्रिकाले यसबारे विस्तृत जानकारी प्रकाशित गरेको छ सो पत्रिकाका अनुसार यसअघि उक्त भाइरससँग सम्बन्धित कुनै मामिला प्रकाशमा आएको थिएन । ‘मङ्की बी’ भाइरसबाट मानव संक्रमित भएको र मृत्यु भएको यो पहिलो घटना हो ।
यो भाइरस प्रत्यक्ष सम्पर्क वा शारीरिक स्रावको आदान प्रदानबाट मानिसमा सर्न सक्छ । यो भाइरसबाट संक्रमित बिरामीको मृत्यु दर ७० देखि ८० प्रतिशत रहेको विज्ञहरुको भनाइ छ ।
हर्पिस बी भाइरस या मङ्की भाइरस आम रुपमा वयस्क ‘मैकाक’ प्रजातिको बाँदरबाट सर्छ । यो भाइरस मानिसमा पाउनु दुर्लभ मानिन्छ । तर यसबाट कोही मानिस संक्रमित भएमा उसमा तन्त्रिका सम्बन्धी रोग या मस्तिष्क र मेरुदण्डमा सुन्निने समस्या देखा पर्न सक्छ ।
मानिसमा यो भाइरसको संक्रमण भएको एक महिनाभित्र यसको लक्षण देखा पर्न थाल्ने बताइएको छ। कतिपयमा भने एक हप्ताभित्रै पनि लक्षण देखिन थाल्छ । तर हरेक संक्रमितमा एक समान लक्षण नहुन पनि सक्ने विज्ञहरुको भनाइ छ ।
संक्रमण भएको अङ्गमा फोकाजस्तो देखिने, घाउ नजिकै सुन्निने तथा चिलाउने, फ्लुजस्तो दुखाइ हुने, ज्वरो आउने वा जाडो हुने, २४ घण्टाभन्दा बढी समयसम्म टाउको दुख्ने, थकान, सास फेर्न कठिनाइजस्ता यो भाइरसका लक्षण हुन् ।
समयमै उपचार नहुने हो भने संक्रमितमध्ये लगभग ७० प्रतिशत बिरामीको मृत्यु हुन सक्ने र यो भाइरसको उपचारका लागि केही औषधि उपलब्ध भए पनि यसविरुद्धको खोप उपलब्ध नरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया