आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो, सवारी साधनमा जोर-बिजोर प्रणाली हटाइयो

लोकपथ
238
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा मंगलबारदेखि लागु हुनेगरी सवारी साधनमा लगाइदै आएको जोर विजोर प्रणाली हटाइएको हो । यससँगै अब काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा नीजि सवारी साधन सीट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने शर्तमा सञ्चालन हुने भएका छन् । कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने र सवारी साधनलाई अनिवार्य रुपमा दैनिक निसंक्रमित गर्नुपर्ने शर्त सहित सवारी साधनको जोर विजोर प्रणाली हटाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । त्यस्तै अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने उनले जानकारी दिए ।

त्यस्तैगरी २५ जनासम्म विद्यार्थीहरु भेला भई परीक्षा सञ्चालन गर्न सकिने भएको छ । एकै दिनमा २५ जनाभन्दा बढी मानिस जम्मा हुने अवस्था भएमा सरकारले तोकेको जनस्वास्थ्यको मापदण्ड पालना गरि सिफ्टवाइज परीक्षा सञ्चालन गर्न सकिने बताइएको छ , गोष्ठी, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण जस्ता क्रियाकलाप गर्नैपर्ने भएमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

निषेधाज्ञा भने असार ३१ गते सम्मका लागि लागु गरिएको छ । शैक्षिक संस्थाहरु खोलिएका छैनन् । विवाह, व्रतबन्ध लगायतका सामुहिक रुपमा गर्नुपर्ने सांस्कृतिक गतिविधिहरु पार्टी प्यालेसमा गर्न बन्देज गरिएको छ । स्थानिय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?