बाढी पहिरोले सडक र गोरेटो बगायो

RSS
98
Shares
साङ्केतीक तस्वीर

मनाङ । बाढी पहिराबाट प्रभावित हिमाली जिल्ला मनाङका स्थानीयवासीलाई सदरमुकाम पुग्न सकस भएको छ । बाढी पहिराले एक ठाउँबाट अर्को ठाउँ पुग्नका लागि सडक सञ्जाल पूर्ण रूपमा टुटेको छ भने अस्थायी रूपमा बनाइएका गोरेटा मस्र्याङ्दी नदीले बगाएको छ ।

तिमाङबाट सदरमुकाम पुग्नुपर्ने सर्वसाधारणका लागि बनाइएको गोरेटो बाटोसमेत बाढीले बगाएपछि सकस भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने भन्छन, “बाढीपहिराले सडक देखिदैन, खोल्सीमा मान्छेसमेत हिँड्ने ठाउँ छैन, भित्ता मात्रै बाँकी छ, सडक मस्र्याङ्दीमा खसेको छ, भित्तो टेक्दै, समात्दै हिँड्नुपर्छ, लडियो भने सिधै मस्र्याङ्दी नदीमा पुगिन्छ ।”

उनका अनुसार कोतो नजिकै चामे जाने बाटो पनि मस्र्याङ्दीले बगाएको छ भने सडक छियाछिया बनेको छ । नासों गाउँपालिका–२ नाचैका अध्यक्ष भीमबहादुर गुरुङका अनुसार मस्र्याङ्दी नदी वरिपरि दुवैतर्फ हिँड्ने बाटो समेत छैन ।

मुस्किलले खोत्रोको झोलुङ्गे पुल तरेर बेंसीसहर पुगेको उनले बताए । “धन्न खोत्रोको पुल बाँकी राखेछ बाढीले, अरू सबै बगाइदियो, बाटो नभएपछि जङ्गल हिँड्न बाध्य भएका छौँ”, उनले भने । जेठ ३१ देखिको परेको वर्षाले बेंसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध छ ।

कम क्षति भएको भनिएको लमजुङ खण्डमा समेत सवारी चल्न सकेको छैन । एउटा मात्र विकल्प हेलिकप्टरले राहत ओसारिरहेको छ । बेंसीसहरदेखि मनाङ सिमाना म्यार्दीसम्मको ३५ किलोमिटरमा म्यार्दीदेखि चामेसम्मको ३० किलोमिटर सडकमा बढी क्षति भएको छ ।

बाढीले सडक र गोरेटो मात्रै नभई बेलिब्रिज, काठेपुल, कल्भर्ट पनि बगाएको छ । केही ठाउँमा बाटो देखिए पनि कतिपय ठाउँमा बाटोको निसानासमेत नरहेको लामिछानेले बताए । “बाढीपहिराले धेरै दिन चामेभन्दा बाहिर निस्कनै सकिने अवस्था थिएन, बाटो हेर्न निस्किएको चार पाउ टेकेर थानचोकसम्म पुगियो, त्यसपछि अघि बढ्न भने सकिएन र त्यहीबाट फर्कियौँ”, उनले भने ।

उनका अनुसार कोतो नजिकै पहिराले सडक भासिएपछि अझ सकस भएको छ । मानिस अहिले जङ्गलबाट बाटो बनाउँदै हिँड्नु परेको छ । थानचोक नजिकै चट्टान मात्रै बाँकी रहेको मस्र्याङ्दीले पहिरो खसेको छ । कोतो, थानचोक, तिमाङ, धारापानी, दानक्यु–बगरछाप, खोत्रो, सिरानताल, म्यार्दीलगायत स्थानमा बाढीपहिराले सडक बढी क्षति पुर्याएको छ ।

लमजुङतर्फको सडक खण्डअन्तर्गत खरखरे, घट्टेखोला, रामबजार, स्याँगे, च्याम्चेलगायत क्षेत्रमा पहिरो गएको छ । मनाङ सदरमुकाम चामेबाट पहिरा पन्छाउने योजना बनाए पनि पर्याप्त मात्रामा पेट्रोल, डिजेल ल्याउन नसक्दा समस्या भएको प्रजिअ लामिछानेले बताए । “हेलिकप्टरबाट फ्युल ल्याएर चामे, तिमाङ र माथिल्लो तिमाङमा राख्ने योजना गरिएको छ, निरन्तर वर्षा र खराब मौसमले हेलिकप्टर पनि आउन सकेको छैन, समस्याले काम गर्न पनि मुस्किल भएको छ”, उनले भने ।

बेंसीसहर–चामे सडकको कुल ६५ किलोमिटरमध्ये मनाङतर्फको सडक खण्डमा धेरै क्षति पुगेको छ । लमजुङतर्फ खण्डको पहिरो हटाउन थालिएको छ । डुम्रे–बेंसीसहर–चामे सडक योजनाका इञ्जिनीयर सुरज महर्जनका अनुसार लमजुङ खण्डमा बेंसीसहरदेखि पहिरा सफा गर्ने कार्य थालिएको छ । “खरखरेको पहिरो हटाएका छौँ, पानी पार्ने क्रम जारी नै छ, माटो, ढुङ्गा फाल्ने काम भइरहेको छ,” उनले भने, “रामबजारभन्दा अगाडि सडक नै मस्र्याङ्दीले तानेको छ, नयाँ ट्रयाक बनाएका छौं ।”

उनका अनुसार अर्खलेको २ ठाउँमा नयाँ ट्रयाक खोलिएको छ । “नयाँ ट्रयाक बनाउनका लागि कतिपय ठाउँमा बम ब्लास्टिङ गर्नुपर्ने देखिन्छ, त्यस्तो ठाउँमा नेपाली सेनाको सहयोग लिनेछौँ, मौसममा सुधार हुँदै गएमा केही दिनमा रामबजारतर्फ खुला गर्न सकिन्छ, त्यसपछि २÷३ दिनमा हामी सीमा क्षेत्र म्यार्दीको सडकमा काम गर्नेछौँ”, महर्जनले भने ।

डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख सिनियर डिभिजन इन्जिनियर अमितकुमार श्रेष्ठले भने, “लमजुङ खण्डको सडक सफा गर्ने र नयाँ ट्रयाक खोल्ने कार्य केही दिनमा सकिनेछ ।” उनका अनुसार दैनिक ३ वटा एक्स्काभेटर र २ वटा लोडरमार्फत काम भइरहेको छ । “चामेतर्फबाट सडक खुलाउँदै ल्याउन गाह्रो भयो, तलबाट गरिरहेका छौँ, पानी परेपछि बाढीपहिराले समस्या भइरहेको छ,” उनले भने । मनाङका धेरै स्थानहरूमा नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?