दैलेख । दैलेखमा कोभिड – १९ बाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ ।
दुल्लु नगरपालिका, ठाटीकाध र भैरवी गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणलाई आफ्नै गाउँमा रोजगारी प्रदान गरिएको हो ।
दुल्लु – १३ का ७० घरधुरी, भैरवी गाउँपालिका–५ का ७० र ठाटीकाध गाउँपालिका – २ का ११४ गरी कूल २५४ घरधुरीका सदस्यले आफ्नै गाउँमा रोजगारी पाएका हुन् । उनीहरूलाई आफ्नै गाउँमा रोजगारीको व्यवस्था मिलाइएको छ ।
युएसआइडीको आर्थिक सहयोग र सेवक नामक गैरसरकारी संस्थाको समन्वयमा कामका लागि नगद कार्यक्रम लागू गरी उनीहरूलाई आफ्नै गाउँमै रोजगारी प्रदान गरिएको हो । उनीहरुलाई गाउँकै योजनामा काम दिएर रोजगारीमा लगाइने र काम गरेवापत नगद प्रदान गरिने सेवक संस्थाका अनुगमन मूल्याङकन अधिकृत तेजबहादुर नेपालीले जानकारी दिए ।
उनका अनुसार ठाटीकाध – २ मा ४० लाख रुपैयाँ बराबरको खानेपानी योजना, दुल्लु – १३ मा रु आठ लाखको ग्रामीण सडक सुधार र भैरवी – ५ मा सात लाख १५ हजार रुपैयाँ लागतको सिँचाइ कुलो निर्माण योजनामा काम दिएर रोजगारीमा लगाइएको हो ।
गाउँमै रोजगारी पाएपछि कोरोनाबाट समस्या परेका विपन्न परिवार निकै खुशी भएका छन् । कुनै काम नपाउँदा मजदुरीका लागि भारत जाने तयारी गरेको भए पनि गाउँमै रोजगारी पाएपछि अब भारत नजाने स्थानीयवासी हरि नेपालीले बताए । उनले भने, “काम नपाउँदा घर खर्च जोहो गर्न मजदुरी गर्न भारत जाने हो, गाउँमै रोजगारी पनि पाउने खानेपानी, सिँचाइ र सडक पनि बन्ने र त्यो बनाएवापत पैसा नि पाइने भएपछि केका लागि भारत जाने ?, यस्तै घर खर्चको जोहो हुने कार्यक्रम आए कोही भारत र विदेश जानु नपर्ने हुन्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया