नारायणगढ – मुग्लिन सडकमा पहिरो खसेको खस्यै, यातायात अवरुद्ध

लोकपथ
182
Shares

चितवन । पहिरोका कारण नारायणगढ – मुग्लिन सडकमा पहिरो खस्ने क्रम नरोकिएकाले यातायात अवरुद्ध भएको छ । बिहीबारदेखि नै यो सडकखण्डमा पहिरो खसिरहेको छ ।

शुक्रवार साँझ नारायणगढदेखि २० किलोमिटर पर भोर्ले सेतीदोभन र राति चार किलोमा फेरि थपिएको पहिरोले गाडी चल्न ठप्प भएको छ । पृथ्वीराजमार्गको कुरिनटारनजिक पनि लेदो झरेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चार किलोमा शुक्रवार बिहानैदेखि पहिरो खसेर गाडी रोकिएका थिए । दिउँसो केही सफा गरेर एकतर्फी गाडी खुले पनि सो ठाउँमा राति फेरि पहिरो गएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले बताए । भोर्ले सेती दोभानमा शुक्रबार साँझ अचानक ठूलो पहिरो गएको थियो । सेती दोभानको पहिरो केही बेरपछि हटाउन सुरु गरिने भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिव खनालले बताए ।

त्यहाँ ठूलो ढुंगासहित पहिरो खसेका कारण शनिबार काम सुरु गरे पनि सफा गर्न कम्तीमा ६ घण्टा लाग्ने सूचना अधिकारी इन्जिनियर खनालले जानकारी दिए । नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुसारको दुई लेनको फराकिलो बनाउन ठाउँ –ठाउँमा पहाड काटिएको थियो । ती ठाउँमा पहिरोले दुःख दिँदै आएको थियो । अन्य नयाँ ठाउँमा पनि ठूला पहिरो खस्न थालेको खनालले बताए ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?