सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत

RSS
63
Shares

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सल्लेरीका विस्थापित परिवारका लागि आज अत्यावश्यक राहात सामग्री पुर्‍याइएको छ ।

लगातारको वर्षाका कारण बुढीगण्डकी नदीमा आएको भिषण बाढीले घर बगाएर विस्थापित भएका सल्लेरीका बाढी पीडितलाई सिम्रिक एयरको हेलिकप्टरबाट राहत सामाग्री पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले विस्थापितका लागि उपलब्ध गराएको ३० थान टेन्ट, उद्योग वाणिज्य सङ्घ र लायन्स क्लब अफ गोरखामार्फत प्राप्त भएको एक हजार ४४० किलो चामल, ६० लिटर खानेतेल, नुन, दाललगायत सामग्री त्यहाँ पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । सेफ्टी किट र औषधिलगायत अत्यावश्यक सामाग्री पनि सल्लेरी पुर्‍याइएको उनले बताए।

त्यस्तै विस्थापितका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले ९० थान कम्बल उपलब्ध गराएर हेलिकप्टरमार्फत नै सल्लेरी पठाइएको शाखाका सभापति भगवानबावु मास्केले जानकारी दिए । छब्बीस घरधुरी रहेको सल्लेरीमा बुढीगण्डकी नदीमा आएको बाढीले पाँच घर बगाएको छ भने गाउँ नै जोखिममा परेको छ । प्रभावित क्षेत्रमा राहत सामाग्री ढुवानीका लागि माउण्टेन चाइल्ड जावलाखेलले हेलीकप्टर चार्टर गरिदिएको हो । संस्थाले पाँच पटक गरेर राहत सामग्री सल्लेरी पु¥याएको संस्थाका समन्वय अधिकृत सर्मिला मानन्धरले जानकारी दिए ।

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा एक स्थानीय संस्थासँग समन्वय गरेर शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले विस्थािपतका लागि सेफ्टी किटमा सर्जिकल मास्क, स्यानिटाइजर, साबुन, टुथपेष्ट, ब्रस, रुमाल, टिस्यूपेपर, बिस्कुट तथा स्यानिटरी प्याड जस्ता सामाग्री पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?