काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवाद चर्केका बेला महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवकै सहमतिबाट जसपाको कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको निर्णयसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा बुझाएको छ । ठाकुर पक्षले कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि आयोगलाई बुझाएको हो ।
नागरिकलाई उपलब्ध भएको कागजातअनुसार २०७७ पुस ७ गतेको कार्यकारिणी समिति बैठकको माइन्युटिङमा भनिएको छ, ‘केन्द्रीय कार्यकारिणी समितिको हेरफेर तथा पुनगर्ठन गर्ने अधिकार पार्टीको पहिलो वरीयताको अध्यक्ष महन्थ ठाकुरलाई प्रदान गर्ने निर्णय गरिएको छ ।’
यसैगरी माइन्युटिङको २ नम्बर बुँदामा भनिएको छ, ‘बैठकबाट भएको निर्णय प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारका लागि पहिलो वरीयताको अध्यक्षलाई दिने निर्णय गरिएको छ ।’ बैठकको माइन्युटिङमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवसहित ३८ जना कार्यकारिणी समिति सदस्यको हस्ताक्षर छ ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने ठाकुर पक्षले जाली काम गरेको बताए । २०७७ पुस ७ गते कार्यकारिणी समितिको बैठक नबसेको र ठाकुरलाई कार्यकारिणी समिति फेरबदल गर्न अधिकार दिने सम्बन्धमा कुनै निर्णय नगरिएको यादवले बताए ।
‘उहाँहरूले सबै काम जाली गर्नुभएको छ । ठाकुरजीलाई त्यस्तो कुनै अधिकार दिइएको छैन’, यादवले भने ।
ठाकुर पक्षले निर्वाचन आयोगमा पठाएको अर्को कागजातमा कार्यकारिणी समिति हेरफेर गरेको जनाइएको छ । २०७८ जेठ ३ गते ठाकुरले उपेन्द्र यादव निकट २० जना कार्यकारिणी सदस्यलाई हटाई आफू निकटका २० जनालाई थप गरेका छन् । उक्त सूचीमा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईको नाम समावेश छ तर यादव निकटका अरू सबै नेताको नाम हटाइएको छ । यो कागजात ठाकुर पक्षले असार १ गते निर्वाचन आयोगमा बुझाएको हो । कार्यकारिणी फेरबदल गरेको १ महिनाभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्थाअनुसार एक महिनाभित्रै आयोगमा बुझाइएको ठाकुर पक्षले जनाएको छ ।
ठाकुर पक्षका एक शीर्ष नेताले भने, ‘२०७७ पुस ७ को कार्यकारिणी समितिको निर्णयअनुसार नै ठाकुरजीले कार्यकारिणी फेरबदल गर्नुभएको हो,’ ती नेताले भने, ‘त्यसैले उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा बुझाएका कार्यकारिणी सदस्य वैधानिक होइनन् । उनीहरूलाई ठाकुरजीले पहिले नै कार्यकारिणीबाट हटाइसक्नुभएको छ।’ असार १ गते ठाकुरले आयोगमा १२ वटा कागजात बुझाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया