भक्तपुर । सडक कालोपत्र गर्न माग गर्दै स्थानीयवासीले मध्यपुरथिमि नगरपालिका कार्यालय घेराउ गरेका छन् ।
मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको सडकमा खाल्डो र हिलाम्मे भएपछि स्थानीयवासीले आज नगरपालिका कार्यालय घेराउ गरेका हुन् । मध्यपुरथिमि नगरपालिका–६ स्थित नगरपालिका कार्यालय अगाडि विगत दुई वर्षदेखि स्तरोन्नती गर्ने भन्दै सडक चौडा गरेर ग्राइबेल बिछ्याए पनि कालोपत्र नगरेका कारण खाल्डो र हिलाम्मे भएपछि स्थानीयवासीले सडक कालोपत्र गर्न माग गर्दै नगरपालिकाको मूल गेट अगाडि नाराबाजी गरेका छन् ।
पटक–पटक आफुहरुले ज्ञापन पत्र दिदाँ पनि नगरपालिकाले सडक कालोपत्र गर्न चासो नदिए पछि नगरपालिकाको आज कार्यपालिकाको बैठक बसेको चाल पाएपछि नगरपालिका घेराउ गरेको स्थानीयवासी रामकृष्ण श्रेष्ठले बताए । यहाँको २०० मिटर सडक कालोपत्र गर्न नगरपालिकाले आलटाल गर्दै आएको अर्का स्थानीयवासी कृष्ण प्रजापतिको भनाइ छ ।
नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले भने स्थानीयवासीको बिरोधका कारण नै सडक कालोपत्र हुन नसकेको बताए । यस क्षेत्रमा ढल विस्तारको क्रममा खनिएको सडकमा विद्युत्को लाइन भूमिगत गर्ने तयारी गरेको तर केहीले तार भूमिगत गर्न अबरोध गरेपछि स्थानीयवासीकै छलफलमा सहमतिबाट मात्रै कालोपत्र गर्ने तयारी गरेको उनले बताए।
कालोपत्र गर्न नगरपालिकाले रु ६० लाख बजेट समेत विनियोजन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया