राष्ट्रिय महिला भलिबल टोलीको बन्द प्रशिक्षण आजबाट शुरु हुने

काठमाडौं। फिलिपिन्समा आयोजना हुन लागेको ‘एसियन सिनियर भलिबल च्याम्पियनसिप’का लागि नेपाली राष्ट्रिय महिला भलिबल टोलीको बन्द प्रशिक्षण आज (मंगलवार)बाट शुरू हुँदैछ।

आगामी ‘अगस्ट २९’ देखि ‘सेप्टेम्बर ५’ सम्म आयोजना हुने सो प्रतियोगिताका लागि नेपाल भलिबल संघ ‘एनभीए’ले बन्द प्रशिक्षण शुरु गर्न लागेको हो। कोरोना महामारीलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षा मापदण्डलाई पूरा गरेर त्रिपुरेश्वरस्थित ‘कभर्ड हल’मा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु गर्न लागिएको हो।

गत चैत महिनामा सम्पन्न पाँचौं संस्करणको ‘आरबीबी एनभीए क्लब लिग प्रतियोगिता’मा उत्कृष्ट प्रदर्शन गर्ने ३० महिला खेलाडीलाई यस बन्द प्रशिक्षणमा बोलाइएको छ। टिम प्रशिक्षक ‘जगदिश भट्ट’ र ‘प्रज्वल बहादुर सिंह’को नेतृत्वमा आजबाट बन्द प्रशिक्षण शुरु हुने निश्चित भएको छ। यस अघि ‘जेष्ठ २१’ गतेबाट शुरू हुने भनिएको बन्द प्रशिक्षण विभिन्न कारणवस पछाडि धकेलिएको थियो।

प्रशिक्षणमा विभागीय टोली ‘आर्मी’, ‘पुलिस’ र ‘एपीएफ’बाट क्रमशः आठ, सात र सात जना खेलाडी चुनिएका छन्। त्यस्तै ‘न्यू डायमण्ड क्लब’बाट पनि ७ जना खेलाडी प्रशिक्षणमा पर्दा ‘भरतपुर मेट्रो’बाट एक जना खेलाडी बन्द प्रशिक्षणमा पर्न सफल भएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?