कोरोनाका कारण ७० प्रतिशत उद्योग प्रभावित : सरोकारवाला भन्छन्- ‘लक्षित आर्थिक वृद्धि हासिल चुनौतीपूर्ण’

कोरोना संक्रमणले उद्योग व्यवसायमा परेको असरका कारण सोचे अनुसार आर्थिक वृद्धि हासिल गर्न नसकिने सरोकारवालाले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार ७० प्रतिशतको हाराहारीमा उद्योग क्षेत्र प्रभावित भएका कारण सरकारले आगामी वर्षका लागि लक्ष्य राखेको आर्थिक वृद्धिदर हासिल गर्न चुनौतीपूर्ण हुने सरोकारवालाको भनाई छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा साढे ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । तर आर्थिक क्षेत्रको महत्वपूर्ण र शक्तिशाली मानिएको उद्योग क्षेत्र नै ७० प्रतिशत प्रभावित भएपछि सरकारले लक्ष्य राखेको आर्थिक वृद्धिदर हासिल हुन समस्या हुने सरोकारवालाको भनाई छ ।

कोरोनाको संक्रमण कहिलेसम्म रहिरहने हो भन्ने एकिन नभएकाले सरकारले आर्थिक वृद्धिदरमा राखेको लक्ष्य पूरा गर्न चुनौतीपूर्ण हुने उनीहरुको भनाई छ ।

के भन्छन् सरोकारवालाहरु ?

भवानी राणा,पूर्व अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

कोरोनाको पहिलो चरणको असरपछि केही समय उद्योग व्यवसायहरु राम्रोसँग संचालन भए । त्यसले आर्थिक गतिविधि पनि राम्रैसँग संचालन भए । कोरोनाको असरबाट उद्योग व्यवसाय माथि उठ्न खोज्दै थिए । तर पहिलो चरणको असर सकिन नपाउँदै दोस्रो चरण शुरु भएकाले उद्योग व्यवसाय पुनःप्रभावित भएका छन् । कोरोनाका कारण उद्योग क्षेत्र अहिले पनि शिथिल अवस्थामै छ । कतिपय उद्योगहरु उकास्नै नसक्ने अवस्थामा छन् । जस्तो पर्यटन,मनोरञ्जन क्षेत्र लगायत क्षेत्र निकै प्रभावित छन् । अन्य उद्योगहरु पनि प्रभावित छन् । मुख्य कुरा कोरोनाको असर कहिलेसम्म रहन्छ भन्ने कुरामा भर पर्छ । मौद्रिक नीतिले गत वर्ष गरेका व्यवस्थालाई निरन्तरता दिने बजेटले भनेको छ । सरकारले भनेजस्तै, स्टीमुलस प्याकेज आयो र कोरोनाका संक्रमण कम भयो भने सरकारले लक्ष्य राखेको आर्थिक वृद्धिदर हासिल गर्न समस्या नपर्ला । तर कोरोनाको संक्रमण बढ्दै जाने हो र उद्योग व्यवसाय यसरी नै प्रभावित हुँदै जाने हो भने चूनौतीपूर्ण नै हुन्छ ।

साजन शाक्य, महासचिव,होटल संघ नेपाल (हान)

बजेट समग्रमा निकै राम्रो आएको छ । बजेटले सबै क्षेत्रलाई समेटेको छ । कोरोनाका कारण उद्योग व्यवसाय प्रभावित हुँदा केही समस्या आएको हो । तर उद्योग चल्न थालेपछि आर्थिक गतिविधीहरु पनि चलायमान हुन्छन् । त्यसले गर्दा आर्थिक वृद्धिदर हासिल गर्न खासै समस्या होला जस्तो मलाई लाग्दैन ।

गुणनिधी तिवारी,खाद्यन्न उद्योगी तथा व्यवसायी

कोरोनाले उद्योग व्यवसाय ध्वस्त पारेको अवस्थामा सरकारले ल्याएको बजेटमा नीजि क्षेत्रका लागि जति सपोर्ट हुनुपर्ने हो त्यति भएको छ । तर नीजि क्षेत्रले आफ्नो स्थानबाट सकेको व्यवसाय गरिरहेका छन् भने सरकारलाई गर्ने सहयोग पनि गरिरहेका छन् । सरकाले बजेट त ल्यायो तर त्यसको स्रो के हो भन्ने स्पष्ट छैन । हाम्रा धेरै सुझावहरु बजेटमा समावेश त भएका छन् । तर पनि सरकारले जुन रुपले नीजि क्षेत्रलाई हेर्नुपर्ने हो,त्यसो रुपमा हेरेको छैन । कोरोनाले उद्योग क्षेत्र थला परेर केही उठ्ने अवस्थामा रहेका बेला फेरी अर्काे लहर सुरु भएकाले सरकारले लक्ष्य राखेको आर्थिक वृद्धिदर हासिल गर्न संभव छैन ।

यस्तो छ क्षतिको अवस्था

उद्योग वाणिज्य महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना महामारीका कारण देशैभरी करिब ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

सो तथ्यांक अनुसार सबै प्रदेशगत रूपमा क्षतिको तथ्यांक सार्वजनिक गरेको छ । महासंघका अनुसार प्रदेश १ मा ८२.७, गण्डकीमा ७५, बागमतीमा ६९, प्रदेश–२ मा ६९, लुम्बिनी प्रदेशमा ६४.५, सुदूरपश्चिममा ५७.७ र कर्णाली प्रदेशमा ४५.५ प्रतिशत उद्योग व्यवसाय प्रभावित भएका छन् ।

त्यस्तै,खाद्यान्न, स्वास्थ्यसंग सम्बन्धी, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषि बाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प भएको महासंघले जनाएको छ । कोरोना संक्रमणका कारण लाखौँ मानिस प्रभावि भएका बेला उद्योगी व्यवसायीहरू पनि प्रभावित भएको महासंघको ठहर छ । त्यस्तै,महासंघका केही सदस्य उद्योग वाणिज्य संघहरूले राहत कोष खडा गरी स्वास्थ्य सहयोग गर्दै आएका छन् । त्यस्तै,कतिपय संघहरूले स्थानीय निकाय र स्थानीय अस्पतालसंग मिलेर अक्सिजन प्लान्ट स्थापनाको तयारीमा लागेका छन् ।

महासंघले अक्सिजनको व्यवस्थापन, अक्सिजन संकलन तथा वितरणर लगायतका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरूको संकलन तथा वितरण तथा आर्थि सहयोग लगायतका सहयोग गरिरहेको जनाएको छ । विहान बेलुका खान समस्या भएकालाई खाद्यान्नको जोहो गरिदिने देखि जनचेतना बिस्तारमा समेत महासंघ अन्र्तगतका संघहरूबाट सहयोग भैरहेको छ । उद्यमी व्यवसायीहरूले आइशोलेशन निर्माण, संचालन, स्वास्थ्य सामग्रीहरूको व्यवस्था, अक्सिजन÷कन्सन्ट्रेटर लगायतका अत्यावश्यक औषधिहरूको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापना मार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्रीहरू हस्तान्तरण, हेल्प डेस्क मार्फत सहयोगमा जुटिरहेको समेत महासंघले जनाएको छ ।

कोरोनाको दोस्रो लहरको संक्रमण बढेसंगै महासंघले निजी क्षेत्र, सरकार तथा आम सर्वसाधारणको साथ रहेको प्रतिबद्धता समेत जनाएको छ । महासंघले आ–आफ्नो क्षेत्र र आ–आफ्नो तहबाट सहयोगमा उत्रन अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?