बजेटबारे उद्योगी व्यवसायीको प्रतिक्रिया : कार्यान्वयनमा चुनौती

लोकपथ
126
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गरेसंगै यसबारे उद्योगी व्यवसायीहरुले आ–आफ्ना किसिमले बजेटबारे टिप्पणी गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक भएसँगै सम्बन्धित सरोकारवालाहरुले बजेटमाथि मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले कार्यान्वयनको पाटो चुनौतीपूर्ण हुने प्रतिक्रिया दिएका छन् ।

भवानी राणा,निर्वमान अध्यक्ष,नेपाल उद्योग वाणिज्य महासंघ

समग्रमा यसपालीको बजेट सन्तोष जनक नै छ भन्नुपर्छ । सरकारले स्वास्थ्य क्षेत्रका लागि बजेटमा राम्रो व्यवस्था गरेको छ । कोरोना विरुद्धको खोपका लागि पनि ठूलो रकम छुट्याएको छ । स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माणका लागि पनि राम्रो व्यवस्था गरेको छ । जोखिम भत्ताहरु पनि राखेको छ । अर्को वर्ष कसरी निरन्तरता दिने भन्ने कुरामा पनि चासो देखाएको छ । यो पनि सकारात्मक पक्ष नै हो । कोरोनाले सबैभन्दा बढी क्षति बनाएको पर्यटन क्षेत्रलाई उत्पादनमूलक सरह नै सुविधा दिने व्यवस्था गरेको छ । त्यस्तै,आन्तरिक पर्यटन बढाउनका लागि १० दिनको पर्यटन विदा भनेर शुरु गरेको छ । यसले आन्तरिक पर्यटन प्रर्वर्द्धन गर्न सहयोग मिल्छ । त्यस्तै, चलचित्र क्षेत्रलाई पनि सरकारले राम्रो व्यवस्था गरेको छ ।,पार्टी प्यालेशहरुका लागि पनि सरकारले कर संवन्धि राम्रो व्यवस्था गरेको छ । त्यस्तै युवाहरुलाई व्यवसायका लागि सहुलियत दरमा कर्जाको व्यवस्था छ ।बजेटमा नयाँ नआए पनि पुरानैको निरन्तरता भएपनि सकारात्मक छ ।

राजेन्द्र मल्ल,अध्यक्ष नेपाल चेम्बर्स अफ कमर्श

सरकारले बजेटमार्फत १० खर्ब २४ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको छ । अहिलेको अवस्थामा कार्यान्वनको पाटो एकदमै कठिन छ । चालू आर्थिक बर्षमै पनि सरकारले बजेटको आकार र राजस्व उठौती लक्ष्य दुई पटक संसोधन गरेर घटायो । अहिले हामी कोरोनाको महामारीमै छौं र उध्योग व्यवसाय लगायत पर्यटन क्षेत्र धरासायी भएका छन् । यस्तो अवस्थामा अहिले सरकारले राखेको राजस्वको लक्ष्य भेटाउन एकदमै कठिन छ ।

बजेटले नेपाल चेम्बर अफ कमर्सले दिएका धेरै पक्षहरु समावेश गरेको छ । तर यो चुनावी सरकार हो । विगतमा बर्षमा जस्तो स्थिर सरकार र कोरोना महामारी नभएको भए केही हदसम्म राम्रो छ । तर चुनावी सरकार भएका कारण कसरी कार्यान्वयनमा लैजान्छ त्यो हेर्नु जरुरी छ । बजेटले जीडीपी वृद्धिदर साढे ६ प्रतिशतको लक्ष्य राखेको छ । कोरोना महामारीको अवस्थामा त्यो हासिल गर्न सकिँदैनकि भन्ने चिन्तामा छौं ।

कृष्णप्रसाद दुलाल,अध्यक्ष अटोमोबाइल्स एशोसियशन अफ नेपाल (नाडा)

यसपालीको बजेट एकदमै उत्कृष्ट छ । हामी बजेटको स्वागत गर्छौँ । अहिले व्यवसाय,उद्योग मैत्री बजेट आएको छ । हाम्रा अधिकांश मागहरु संवोधन भएका छन् । साना व्यवसायीहरुको आय कर छुट भएको छ । लकडाउनमा मौद्रिक नीतिले गरेको व्यवस्थाकामे निरन्तरता भएको छ । यो पनि राम्रो पक्ष हो । सरकारले व्यवसायीहरुलाई ठूलो राहत दिएको छ । सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको भन्सार कर छुट दिएको छ । जसले विद्युतीय सवारी साधनको व्यवसायमा थप टेवा पुग्नेछ ।

त्यस्तै,सरकारले २० लाख रुपैयाँसम्मको व्यवसाय गर्नेलाई ९० प्रतिशत आयकर छुट, १ करोडसम्मको व्यवसाय गर्नेको ५० प्रतिशत आयकर छुट दिएको छ ।

त्यस्तै, रुग्ण उद्योगहरुलाई ५ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने, स्टार्टअप बिजनेसलाई ५ वर्षसम्म आयकर नलाग्ने, व्यवस्था हुनु व्यवसायका लागि निकै सकारात्मक छ । त्यस्तै, देशभर ५ सय वटा चार्जिङ स्टेसन बनाउने, भ्याटको खाता प्रमाणित गर्ने नियम खारेज, स्वचालित कर चुक्ता प्रमाणपत्र पाउने, भन्सारमा कारोबार मूल्यमा आधारित जाँचपास हुने लगायतका व्यवस्थाहरु सकारात्मक छन् ।

भुवन दाहाल,अध्यक्ष नेपाल बैंकर्स एशोसियशन

सामान्यतयाः हेर्दा बजेट राम्रै छ भन्ने लाग्छ । कोरोनाको खोपका लागि गरेको व्यवस्था राम्रो छ । यसमा सफलता मिलोस म कामना गर्छु । तर मलाई के लाग्छ भने नेपालको कर्मचारी तन्त्रको काम गर्ने तौरतरिका हेर्दा सरकारले साढे ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहने देख्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?