नेपालले १० वर्षको अन्तरालमा निर्यातको लक्ष्य भेट्यो : १ खर्ब बढीको वस्तु निर्यात

काठमाडौं । नेपालले पहिलो पटक निर्यातमा लक्ष्य भेटाएको छ ।

नेपालले १ खर्ब रुपैयाँ भन्दा बढीको वस्तु निर्यात गरेको छ । नेपालले १० वर्षअघि १ खर्ब भन्दा बढीको निर्यात गर्ने लक्ष्य राखेको थियो । लक्ष्य राखेको १० वर्षपछि मात्रै नेपालले लक्ष्य पूरा गर्न सफल भएको छ ।

नेपालले आर्थिक वर्ष २०६७÷६८ मा १ खर्ब बराबरको वस्तु निर्यातको लक्ष्य राखेको थियो । उक्त लक्ष्य आर्थिक वर्ष २०७७/०७८ मा पूरा भएको हो । नेपाल आयातमा निर्भर देश हो । नेपाल एक कृषिभूमी भएपनि प्रशस्त मात्रामा कृषिजन्य वस्तुको आयात हुने गर्छ । त्यसका साथै अधिकांश वस्तुको आयात गरिन्छ । त्यसैले हाम्रो मुलुकको व्यापार घाटा उच्च रहँदै आएको छ । त्यसको तुलनामा निर्यात निकै कम हुने गरेको छ ।

तर यसपाली भने निर्यातमा नेपालले उल्लेख्य प्रगति गरेको छ । नेपालको वैदेशिक व्यापार डेनमार्क, इथियोपिया, होन्डुरस, आइल्यान्ड लगायतका विभिन्न २७ देशसँग नाफामा छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म (९ महिनामा) ९४ अर्बको निर्यात भएको थियो । वैशाख महिनामा देशभर १४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जसले दशकअघिको लक्ष्य भेटाउन सहयोग गर्यो । गत आर्थिक वर्षमा कुल ९७ अर्ब ७० करोड रुपैँया बराबरको मात्र वस्तु निर्यात भएको थियो ।

चालू आर्थिक वर्षको १० महिनामै गत वर्षको यसै अवधिको तुलनामा करिब ३३ प्रतिशत निर्यात भएको छ । विभागका अनुसार वैशाख मसान्तसम्म ८२ अर्ब ६ करोड रूपैयाँ बराबरको निर्यात भएको थियो । यस अवधिमा १२ खर्ब ५४ अर्ब रूपैयाँको आयात भएको छ । यस अवधिमा गत वर्षको भन्दा २२.३४ प्रतिशत बढीको आयात भएको विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा व्यापार घाटा ११ खर्ब ४५ अर्ब रूपैयाँ पुगेको छ । विभागका अनुसार भटमासको तेल,अलैची तथा चियाको निर्यातमा उल्लेखनीय सुधार आएको छ । यी वस्तुहरुको निर्यातमा आएको सुधारका कारण नेपालले उल्लेख्य मात्रामा निर्यातमा सफलता प्राप्त गर्न सकेको हो ।

चालू आर्थिक वर्षको १० महिना सम्ममा भटमासको प्रशोधित तेलको निर्यात ४ गुणाले बढेको छ । यस अवधिमा भटमासको प्रशोधित तेल ३५ अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ८ अर्ब ३६ करोडको भटमासको तेल निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

अलैँचीको निर्यात पनि उल्लेख्य मात्रामा बढेको छ । चालु आर्थिक वर्षको १० महिना सम्ममा अलैँचीको निर्यात ५ अर्ब ९७ करोड रूपैयाँ बराबरको भएको छ । गत वर्षको यसै अवधिमा अलैँचीको निर्यात १ अर्ब ८६ करोड रुपैयाँ बराबरको भएको थियो । यस अवधिमा ७५ लाख केजी अलैँची निर्यात भएको छ भने गत वर्ष २३ लाख केजी निर्यात भएको थियो । यसै अवधिमा चिया निर्यात करिब दोब्बर भएको देखिएको छ । चिया निर्यात हालसम्मकै बढी भएको छ । कार्पेटको निर्यात सामान्य बढेको छ । यस अवधिमा ६ अर्ब रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?