कोरोना संक्रमितको उपचारका लागि गाउँगाउँमा आइसोलेसन

RSS
42
Shares

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुको उपचार व्यवस्थापनका लागि गाउँगाउँमा आइसोलेसन केन्द्र बनाउने अभियानलाई तीव्र पारेको छ । हालसम्म संक्रमितको उपचारका लागि गाउँपालिकाले तीन ठाउँमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले पछिल्लो समय कुरिनटार, मुग्लिन बजार र स्याङ्दीमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिए । उनका अनुसार दारेचोक स्वास्थ्यचौकी कुरिनटारमा १६ शय्या, वडा नं ५ कार्यालय रहेको स्रोत केन्द्र भवन मुग्लिन बजारमा चार शय्या र वडा नं ७ स्थित आधारभूत स्वास्थ्य एकाइ स्याङ्दीमा पाँच शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । सञ्चालनमा ल्याइएका सबै केन्द्रमा अक्सिजन र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको उनले बताए।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले नागरिकको उपचारमा सहज होस् भन्ने उद्देश्यले गाउँगाउँमा आइसोलेसन केन्द्रको व्यवस्था गरिएको बताए। उनले भने, “संक्रमितले समयमै सहजरूपमा स्वास्थ्य उपचार पाउन सकोस् भन्ने हाम्रो चाहना हो, हामी आवश्यकतानुसार आइसोलेसन निर्माण गछौँ ।”

इच्छाकामनामा हालसम्म कोरोना संक्रमितको सङ्ख्या ८८ पुगेको छ । तीमध्ये दुई संक्रमितको मृत्यु भएको छ । गाउँपालिकामा हाल सक्रिय संक्रमितको सङ्ख्या ३४ छ । उनीहरुमध्ये गाउँपालिकाले सञ्चालन गरको आइसोलेसनमा छ जना उपचाररत छन् भने अन्य सबै संक्रमित होम आइसोलेसनमा रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले नागरिकको घरघरमा गएर स्वास्थ्य जाँच समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?