टोलटोलमा ज्वरो र रुघाखोकीका बिरामी, मान्दैनन् कोरोना परीक्षण गर्न

काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका-६ पापुङकी ५१ वर्षीया ठूलीमाया महर्जन (नाम परिवर्तन) गत सातादेखि रुघाखोकी र ज्वरोले घरमै बसिरहेकी छिन् । छिमेकीले कोरोना परिक्षण गर्न सल्लाह दिएपनि उनी डर मानेर परीक्षण गर्न गएकी छैनन् ।

कोरोना देखियो भने आइसोलेशनमा राख्न लैजाने र छिमेकीले पनि दुर्व्यवहार गर्ने भयले उनी रोग सहेरै घरमा बस्न बाध्य भएकी हुन् । उनले आफ्नो नाम समेत उल्लेख नगरी आफू जस्तै बिरामीहरुको पीडा लेखिदिन आग्रह गरिन् ।

पापुङमा उनको जस्तै लक्षण भएका र कोरोना परिक्षण गर्न डराइरहेका एक दर्जन भन्दा बढी बिरामी घरमै आराम गरेर बसिरहेका छन् । रुघाखोकी र ज्वरो अलि कम भएका विरामीहरु निर्धक्क कामकाजमा लागेका छन् ।

यस्तै लिलाखेलका ४७ वर्षिय माइला बलामी (नाम परिवर्तन)पनि वितेको दुई सातादेखि रुघाखोकी र ज्वरोले बिरामी भएर घरमै बसिरहेका छन् । उनलाई कहिले टाउको दुख्छ, कहिले ज्वरो एक्कासी बढ्छ, खाना निल्न गाह्रो हुन्छ, कहिले पखाला चल्छ । उनको परिवारमा अन्य तीन सदस्य पनि विरामी छन् । तर उनले चाहेर पनि कोरोना परिक्षण गर्न सकेका छैनन् । “कोरोना देखियो भने त समाजले घृणा गरेर बस्नै सकिन्न, फेरि स्वाब निकाल्दा धेरै दुख्छ रे ।” उनले आफ्नो दुखेसो यसरी पोखे ।

थहचोकका बुद्ध जोशी (नाम परिवर्तन) पनि एक सातादेखि यस्तै रोगका कारण बिरामी भएका छन् । तर उनी यसलाई सामान्य सिजन अनुसारको रोग मान्छन् । यो मौसममा हरेक वर्ष यस्तै समस्या देखापर्ने भन्दै उनले तातो खाने, आराम गर्ने र डराउन नहुने बताए ।
ठूलीमाया, माइला र बुद्ध जोशी केवल प्रतिनिधि पात्र मात्रै हुन् । थाहानगरको कुन्छाल, थहचोक, लिलाखेल, पापुङ, भटुवाललगायतका ठाउँहरुमा यस प्रकारका विरामीहरु प्रशस्तै भेटिएका हुन् ।

गत वैशाख २८ गते मातातिर्थ औंसीपछि यस्ता लक्षण भएका बिरामीहरु ह्वात्तै बढेको स्थानीयको भनाइ छ । कतिपय परिवारमा एक जना मात्रै बिरामी छन् भने कतिपयको परिवारका सवै सदस्य नै विरामी छन्।

लिलाखेलका स्थानीय कृष्ण बलामीले गाउँमा कसैको पनि कोरोना परीक्षण नभएको जानकारी दिए । रोग लुकाउने बानीले महामारी फैलिने जोखिम बढेको भन्दै उनले भने, “यदि गाउँमा कोरोना नै फैलिएको हो भने त बर्बाद हुन्छ ।” उनले सरोकारवाला निकायहरुले यसतर्फ बेलैमा ध्यान दिनुपर्ने बताए । गाउँमा कतिपय विरामीहरु निको भएर काममा फर्किसकेको, कतिपय विरामी घरमै बसिरहेको र विरामी हुने क्रम बढेको भन्दै उनले गाउँमै स्वाव संकलनको ब्यबस्था मिलाउनु पर्ने बताए ।

कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहँदा सोही प्रकृतिका बिरामीहरु टोलटोलमा भेटिन थालेपछि कोरोना संक्रमणको त्रास बढेको स्थानीय शिक्षक रुपचन्द्र गोपालीले जानकारी दिए । ग्रामीन भेगमा होम आइसोलेसन प्रभावकारी नहुने भएकाले थप सचेतना अपनाउनुपर्ने भन्दै उनले शिक्षित वर्गले सचेतना फैलाउनुपर्ने बताए ।

गाउँघरमा लाज, घृणा र डरले रोग लुकाउने प्रवृति रहेको भन्दै उनले भने, “यो लाज र घृणाको विषय होइन, लुकाएर बस्दा जोखिम झन् बढ्छ ।” कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका सबैको परिक्षण गर्नुपर्ने भन्दै उनले एक जनाको लापरवाहीले समुदायमै कोरोना फैलिन सक्नेतर्फ सचेत हुनुपर्ने बताए ।

थाहा नगरपालिका ६ का वडाध्यक्ष शशिधर सुवेदी पनि गाउँघरमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका विरामीहरु रहेको स्वीकार्छन्। कोरोना परिक्षणका लागि आग्रह गर्दा पनि नमानेको भन्दै उनले भने, “कोरोना लाग्यो भने आइसोलेशनमा लान्छन् भनेर डराउँछन् ।” स्वाब संकलन गर्दा गाह्रो हुन्छ भन्ने हल्लाले गर्दा पनि विरामीहरु घरमै लुकेर बस्ने गरेको उनको भनाइ छ ।

वडाध्यक्ष सुवेदीले अब टोलटोलमै बिरामीहरुको पहिचान गरी परिक्षण थाल्ने जानकारी दिए । स्थानीय स्वास्स्थय संस्थामै एन्टिजेन परिक्षणको ब्यवस्था रहेको भन्दै उनले शंकास्पद विरामीहरुको परिक्षण गर्ने तयारी भईरहेको बताए । उनले भने, “अब टोलटोलमै बिरामीको पहिचान गरी परिक्षण थाल्दैछौं ।”

यो वडामा अहिलेसम्म जम्मा ५२ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये २४ जनामा पोजेटिभ नतिजा देखिएको छ ।
बज्रवाराहीमा मात्रै होइन थाहा नगरपालिका ९ र १० स्थित चित्लाङ, कलाँटु, टुपिखेल, बिसिंखेललगायतका ठाउँहरुमा पनि यस प्रकारका बिरामीहरु देखिएका छन् ।

गत वैशाख २८ गतेको मातातिर्थ औंसीपछि यस प्रकारका विरामीहरु ह्वात्तै बढेको स्थानीय बताउँछन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा लागू गरेपनि प्रभावकारी ढंगले कार्यान्वयन हुन नसक्दा संक्रमणको जोखिम बढेको हो ।

संक्रमित बढेको बढ्यै

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरु बढीरहे पनि थाहानगरमा पर्याप्त मात्रामा कोरोना परिक्षण हुन सकेको छैन । हालसम्म जम्मा एन्टिजेन र पीसीआरसहितजम्माजम्मी ४९८ जनाको परिक्षण गरिएको छ । जसमा ४८ दशमलव ६ प्रतिशत अर्थात् २५६ जनामा पोजेटिभ देखिएको छ ।

बुधवार मात्रै थाहानगरमा २५ जनाको एन्टीजेन परिक्षण गर्दा ९ जनामा पोजेटिभ भेटिएको थियो । कोरोना संक्रमणबाट थाहानगरमा २ जनाको मृत्यु भएको छ भने २ सय ४२ जना आइसोलेसनमा छन् । हालसम्म १२ जना निको भएका छन् । शंकास्पद बिरामीहरुको नमूना स्वावहरु संकलन गरि पसीसीआर परिक्षणका लागि हेटौंडा पठाउदै आएको छ ।


ड्राइ आइसोलेसन बनाउन जुर्मुराए कुन्छालवासी

कोरोना भाइरसको जोखिम बढेसँगै थाहा नगरपालिका १ कुन्छालका स्थानीय ड्राइ आइसोलेसन निर्माणमा जुटेका छन् । स्थानीयको गूठीघरलाई संस्थागत आइसोलेशनका रुपमा प्रयोग गर्न संरचना निर्माण भईरहेको छ ।

भौतिक संरचना निर्माणका लागि आवश्यक रकम उनीहरु आफैले जुटाएका छन् । त्यसका लागि स्थानीय र विदेशमा रहेका आफन्तहरुले सहयोग गरिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिका लेखा संयोजक रुपचन्द्र गोपालीले जानकारी दिए । हालसम्म दुई लाख २० हजार रुपैंया संकलन भएको बताउदै उनले भने, “आफनो परिवार, आफन्त र समाजलाई जोगाउन सबैले सकेको सहयोग गरिरहेका छन् ।” समुदाय एकजुट भएमात्रै कोरोनालाई पराजित गर्न सकिने गोपालीको भनाइ छ ।

कुन्छालमा अहिले ड्राइ आइसोलेसनका लागि १६ वटा बेड तयारी अवस्थामा राखिएको छ । आइसोलेशन संचालनका लागि वडा कार्यालयले पनि आर्थिक सहयोग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?