तीन दिनदेखि बालक बेपत्ता : अपरिचित व्यक्तिले घर अगाडि खेलिरहेका बेला लगेका थिए

लोकपथ
238
Shares

काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका– ४ खेस्राहा गाउँका एक बालक विगत तीन दिनदेखि बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार स्थानीय शत्रुधन महतोका छोरा छ वर्षीय युवराज महतो मङ्गलवार बिहानदेखि बेपत्ता भएका हुन् ।

मङ्गलवार बिहान आफ्नै घर अगाडि खेलिरहेका बालकलाई आफूले प्रष्टसँग हेर्न नसकेको व्यक्तिले हातको औँला समाउँदै डुलाउन भनी गाउँतिर लगेको घर नजिकै गोठमा काम गरिरहेकी निजकी हजुरआमा चम्पादेवीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनकी हजुरआमाले गाउँ टोलकै कोही होला भन्दै चासो लिइकी थिइनन् ।

बिहान ११ः०० बजे नै बेपत्ता भएका बालक दिउँसो अबेरसम्म घर नफर्केपछि घरपरिवारमा चिन्ता बढ्यो र उनकी आमा सङ्गीतादेवीले रुन कराउन थालेपछि घरपरिवारसहित टोल छिमेक सबैले बालक युवराजको खोजतलास गर्न थाले । दिनभरि बालकलाई गाउँभरि खोजियो तर कतै कुनै पत्तो नलागेपछि खेस्राहा प्रहरी चौकीमा जानकारी गराएको उनका बुवा शत्रुधनले बताए ।

त्यसपछि प्रहरीले पनि बालकलाई छिमेकी गाउँमा पनि खोजतलास गरे । बालक फेला परेनन् । त्यसपछि परिवारजन र गाउँलेले बालक युवराजको खोजतलासका लागि इलाका प्रहरी कार्यालय गौशालामा अनुरोध गरेपछि प्रहरी निरीक्षक बस्यालले आफैँ र अरु प्रहरीसमेत परिचालन गरी मङ्गलवार अबेर साँझदेखि नै बालकको खोजतलासमा लागिपरेका छन् ।

प्रहरीले बालक युवराजलाई गाउँटोल, छरछिमेक, छिमेकी गाउँ, आफन्त, नातेदारका साथै अहिले सीमा क्षेत्र र सीमापारि भारतीय स्रक्षाकर्मीसँग समेत समन्वय गरेर सीमापारिसम्म पनि खोजतलास गरिरहेका छन् । अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?