काठमाडौं–
कोरोना संक्रमणका कारण मुलुक आक्रान्त बनेको छ ।
अहिले आम सर्वसाधारणले अक्सिजन नपाएर अकालमै मृत्युवरण गर्नुपर्ने अवस्था आएको छ । यस्तो अवस्थामा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेको छैन ।
सरकारले प्रशस्त मात्रामा अक्सिजन उपलब्ध गराउन नसकिरहेका बेला निजी क्षेत्र कोरोना संक्रमण नियन्त्रणमा जुटेको छ । निजी क्षेत्रले सरकारलाई आर्थिक सहयोग दिनुका साथै अक्सिजन प्लान्ट स्थापना, आईसोलेशन सेन्टर निर्माण, अक्सिजन सिलिण्डर आयात तथा सहयोग लगायतका काममा लागिरहेको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै लिक्विड अक्सिजन प्लान्ट र अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगले आधार दरमै ऋण पाउने व्यवस्था गरेको छ । अहिले बैंकहरुको आधार दर ७ प्रतिशतको हाराहारी छ । राष्ट्र बैंकले सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्न २० करोड रुपैयाँसम्मको कर्जालाई एक वर्षको विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस्तो पुनर्कर्जाको ब्याजदर १ प्रतिशत रहेको छ । राष्ट्र बैंकले गरेको यस्तो व्यवस्थाका कारण अक्सिजन आयात गर्न उद्योग तथा व्यवसायीलाई थप राहत भएको छ ।
कोरोना न्युनिकरण गर्न कसले के गरे ?
चौधरी फाउन्डेशन
नेपालका एक मात्र अर्बपति उद्योगी तथा व्यवसायी बिनोद चौधरी कोरोना नियन्त्रणका लागि मैदानमा उत्रिएका छन् । कोरोना संक्रमण बढ्दै गएका कारण नियन्त्रण गर्न सरकार बाहेक निजी क्षेत्रले पनि हातेमालो गर्दै अगाडि बढिरहेका छन् । कोरोना न्युनिकरणका लागि चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउण्डेशनले १० करोड रुपैयाँ खर्च गर्ने भएको छ । चौधरी फाउण्डेशनले वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड निर्माण गरिरहेको छ । यसअघि यो गु्रपले धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरिसकेको छ ।
नबिल बैंक र नाम्सको सहकार्यमा अक्सिजन प्लान्ट स्थापना
नबिल बैंकले वीर अस्पतालको नाम्स (नेशनल एकेडेमी अफ मेडिकल साइन्स,वीर अस्पताल) सँग मिलेर अक्सिजन प्लान्ट स्थापना गर्न सहकार्य गरेका छ । सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ । वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल भएको हो । सो अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर/प्रतिघण्टा रहने बताइएको छ । एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिने बताइएको छ । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना महामारी न्यूनिकरण गर्न सरकारलाई सहयोग गर्दै आएको छ । यस वर्ष नबिल बैंकले कोरोना न्युनिकरण गर्न सरकारलाई ६ करोड रुपैयाँ नगद सहयोग गरेको छ । बैंकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गरी नेपालका सात वटै प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपतकालिन पूर्व तयारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । कोरोना रोकथाम र नियन्त्रण गर्न नबिल बैंकले ८ करोड रुपैयाँ बराबरको सहयोग गरिसकेको छ ।
गोल्छा अर्गनाइजेशन
गोल्छा अर्गनाईजेशनका कार्यकारी निर्देशक एवम् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि सहयोग गर्ने भएको छ । यस अर्गनाइजेशनले कोरोना न्यूनिकरणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । यस अर्गनाईजेशनले सिंगापुरको टेमासेक फाउण्डेशनबाट अनुदानमा प्राप्त १० हजार पीसीआर फर्टिच्युड किट विमान चार्टर्ड गरेर ल्याएर सरकारलाई हस्तान्त्रण गरेको थियो । त्यसका साथै यस अर्गनाईजेशनले कोरोना संक्रमण न्यूनिकरण गर्न आफ्ना विभिन्न कम्पनीमार्फत छुट्टा छुट्टै सहयोग समेत गरेको छ ।
शिवम् सिमेन्ट
शिवम् सिमेन्टले पनि कोरोना संक्रमण न्युनिकरणका लागि हातेमालो गरेको छ । शिवम्ले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । त्यसैगरी ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु समेत हस्तान्तरण गरेको जनाएको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो । शिवम् सिमेन्टले यसअघि पनि यस किसिमका महामारी, दैविप्रकोप, राहत सामाग्रीहरु, स्वास्थ्य सामाग्री, एम्बुलेन्स हस्तान्तरण सहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आइरहेको थियो ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज
जावलाखेल गु्रप अफ इण्डष्ट्रिजले पनि कोरोना संक्रमण नियन्त्रण गर्न हातेमालो गरेको छ । यस इण्डष्ट्रिजका अध्यक्ष विजयकुमार शाह हुन् । यस इन्डन्ट्रिजले काभ्रेको धुलिखेल अस्पताललाई १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ । यस इन्डन्ट्रिजले धुलिखेल अस्पताललाई अक्सिजन प्लान्ट र अक्सिजन सिलिण्डर खरिद गर्न सो रकम सहयोग गरेको हो ।
आइएमएस ग्रुप
नेपाल कोरोना संक्रमणले आक्रान्त बन्दै गएपछि निजी क्षेत्रका विभिन्न संस्था तथा व्यक्तिहरुले कोरोना न्यूनिकरणका लागि हातेमालो गरिरहेका छन् । जसमा आइएमएस ग्रुप पनि रहेको छ । यस गु्रपका अध्यक्ष दिपक मलहोत्रा हुन् । उनी नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष समेत हुन् । यस ग्रुपले अक्सिजन सिलिण्डरको अभाव भएपछि चीनबाट ल्याएर २ हजार २५० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । यस ग्रुपले चीनबाट ल्याएका अक्सिजन सिलिण्डर केही अस्पताललाई निशुल्क वितरण गरेको छ ।
नेपाल बैंकर्स संघ
बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी थालेको छ । कोरोना संक्रमण बढ्दै गएपछि अक्सिजनको चरम अभाव भएका कारण बैंकर्स संघले अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी थालेको हो । अक्सिजन अभावमा कोरोनाका कोही संक्रमितले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले संघले अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी थालेको जनाएको छ । संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले यस विषयमा तयारी थालेको बताए । ‘आवश्यकताका आधारमा अक्सिजन प्लान्ट स्थापना गर्ने कि भन्ने छलफल गरिरहेका छौँ ।’ उनले भने । अहिले बजारमा विभिन्न कम्पनीहरुले अक्सिजनका सिलिन्डर आयात गरिरहेकाले अभाव छैन । त्यसैले संघले प्लान्ट लगाउने तयारी गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया