तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सडक दुर्घटनामा परी निधन भएको २७ वर्ष पूरा भएको छ । मदन र आश्रितको ०५० जेठ ३ गते राजनीतिक कामको शिलशिलामा पोखराबाट चितवन फर्कने क्रममा चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटना आजसम्म पनि रहस्यको गर्भमा छ । जीप दुर्घटनामा परेर दुई नेताको निधन भएपछि त्यसलाई हत्या भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी रहेको नेकपा एमाले आन्दोलनमा उत्रिएको थियो । सो घटना हत्या हो वा दुर्घटना भन्ने अझैसम्म खुल्न सकेको छैन ।
यसबीचमा नेकपा एमाले पटक–पटक गरेर पाँचपटक सत्तामा पुगेको छ ।अहिले मदन पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति छिन् भने मदनका सहयात्री केपी शर्मा ओली प्रधानमन्त्री छन्। आश्रित पत्नी माया ज्ञवाली सांसद छिन् । तर जति पटक सरकारमा गए पनि एमाले नेतृत्वले मदन–आश्रित दुर्घटना अनुसन्धान प्रक्रिया अघि बढाउन सकेको छैन। तर उसले रहस्यमय दुर्घटना भन्दै अनुसन्धान गर्छौ र हत्यारालाई कानुनी कारवाही गर्छौ भनेर भन्न पनि छोडेको छैन ।
भण्डारी चढेको जीप दुर्घटना हुँदा जीपका चालक अमर लामा भने बाँचेका थिए । उनको पनि २०६० सालमा अज्ञात समूहद्वारा हत्या गरियो । प्रहरीले लामाकै हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन। लामाले षडयन्त्रमा परेर जिप दुर्घटना गराएको भन्ने आरोप लागेपछि उनी जेल पनि परे । उक्त दुर्घटनाबारे सत्यतथ्य पत्ता नलागेपनि मदन भण्डारी भने छोटो समयमै नेपाली राजनीतिमा स्थापित नेताका रुपमा चिनिन्छन् ।

नेपाली राजनीतिमा मदन भण्डारीको उदय :
वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका मदनले नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको क्रान्तिकारी सांस्कृतिक संघको केन्द्रिय सदस्यबाट वि.स. २०२८ सालमा सक्रिय राजनितिक जीवन शुरु गरेका थिए । उनले वि.सं. २०२९ सालमा सोही समूहबाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे । वि.सं. २०३४ सालमा अखिल नेपाल क्रान्तिकारी कम्युनिष्ट को-अर्डिनेशन कमिटिको केन्द्रिय बने भण्डारी । भण्डारी वि.सं. २०३५ सालमा स्थापित नेकपा माले को केन्द्रिय सदस्य छानिएका थिए ।
वि.सं. २०४१ सालमा उनी तत्कालिन नेकपा मालेको पोलिटब्यूरो सदस्यमा निर्वाचित भए । वि.सं. २०४६ मा आयोजित नेकपा मालेको चौथो महाधिवेशनले मदनलाई महासचिवमा निर्वाचित गर्यो । उनी महासचिव भएपछि वामपन्थी एकताका जोड दिए । २०४६ सालको जनआन्दोलन सफलतापछी अन्तरिम सरकारमा सहभागी हुने, पार्टीलाई खुल्ला गर्ने, पार्टीकै नामबाट चुनावमा जाने र सरकार निर्माण गर्ने निर्णय लिँदै जनमतमा आधारित प्रतिस्पर्धात्मक राजनीतिबाट राजनीतिक लक्ष्य प्राप्त गर्ने नीति नेकपा मालेले लियो । त्यो मदनकै योगदान थियो । तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादीबीच २०४७ पुस २२ गते विधिवत् एकीकरण भयो ।
एकिकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी एमाले (एकीकृत मार्क्सवादी लेनिनवादी) को ‘केन्द्रीय संगठन समिति’ को महासचिव बने मदन भण्डारी। अध्यक्षमा भने मनमोहन अधिकारी चुनिए । स्पष्ट विचार राख्ने भण्डारी प्रखर वक्ताका रुपमा स्थापित भए। उनका भाषणहरु नेपाली जनताले निकै मन पराउँथे। भण्डारी २०४८ सालको प्रतिनिधीसभाको निर्वाचनमा काठमाण्डौंको दुईवटा क्षेत्रबाट निर्वाचित भए । उनले नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्ण प्रसाद भट्टराइलाई समेत पराजित गरे। उनले संसदभित्र पनि राष्ट्रवादी नेताको छवि बनाए ।

विश्वको कम्युनिष्ट आन्दोलन रक्षात्मक र पतनतर्फ गईरहेको अवस्थामा भण्डारीले नेपालमा भने कम्युनिष्ट आन्दोलनलाई प्रभावकारी रुपमा अगाडी बढाए । उनले माक्र्सवादको सिर्जनात्मकतामा आधारित भएर जनताको बहुदलीय जनवाद (जबज) को अवधारणा अघि सारे। बहुदलिय प्रतिस्पर्धात्मक प्रणाली, बहुमतको सरकार र संवैधानिक प्रतिपक्ष, संविधानको सर्वोच्चता, बहुलवादी खुल्ला समाज शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा आवधिक निर्वाचन, कानुनीराज लगायतका विशेषता जबजमा समावेश गरियो । लोकतान्त्रिक विधिबाट जनवादी सत्ता संचालन गर्ने, पार्टीको प्रजातान्त्रिकरण लगायतका सैद्धान्तिक व्याख्यासहितको अवधारण जबजले अघि सार्यो ।
नेकपा एमालेको २०४९ सालमा सम्पन्न पाँचौँ महाधिवेशनले पार्टीको आधिकारीक कार्यक्रमको रुपमा जबजलाई स्विकार गर्यो र भण्डारी फेरि महासचिवमा निर्वाचित भए । प्रखर वक्ता र प्रतिभावान मार्कवादी चिन्तकका रुपमा भण्डारी कहलिए । भण्डारी हामी माझ नभएपनि उनलाई नेपाली राजनीतिमा सबैले रुचाएका व्यक्तिका रुपमा लिइन्छ । उनले पार्टी र देशको स्वार्थ नै सबैभन्दा माथि राखेर हेर्ने गर्दथे । एमालेले नवौँ महाधिवेशनमा पनि जबजलाई निरन्तर गतिशील, विकासशील र जीवन्त अवधारण भनेर व्याख्या गर्यो र केपी शर्मा ओली एमालेको अध्यक्षमा निर्वाचित भए। अहीले ओली प्रधानमन्त्री छन्। विगत २९ वर्षदेखि एमाले जबजकै सिद्धान्तलाई अघि सारेर हिँडिरहेको छ। एमालेभित्रैका कतिपय नेताहरुले भने जबजको सिद्धान्तले अब काम नगर्ने बताउँदै पनि आएका छन्।
एकिकरणपछि धरापमा जबज !
२०७५ जेठ ३ गते मदन भण्डारीकै समृति दिवस पारेर नेकपा एमाले र माओवादीबीच पार्टी एकता भयो र नेकपा बन्यो । एमालेले मार्कसवाद लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो मार्ग निर्देशक सिद्धान्त मान्दै आइरहेको थियो भने माओवादीले मार्क्सवाद, लेनिनवाद र माओवादलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त र कार्यनीति एक्काइसौँ शाताब्दीको जनवाद भन्ने अवधारणालाई मान्दै आएको थियो । दुवै पार्टी एकिकृत भएपछि पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद – लेनिनवाद र कार्यनीति जनताको जनवाद राख्ने सहमति भयो। जबजको प्रयोजन सकिएको कतिपयले विश्लेषण गरे । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत रुपमा ब्यूताउनु अघिसम्म पूर्व एमालेकै नेताहरुले जबजको प्रयोजन सकिएको भन्दै जनताको जनवादको पक्षमा वकालत गर्न थाले । नेकपाको स्पष्ट सिद्धान्त के हो भन्ने थाहा हुन सकेन। पार्टी एक रहँदासम्म पूर्व माओवादी पक्षका नेताहरुले त जबजको विषय निकाल्ने कुरै भएन। पूर्व एमालेका नेताहरु खास गरी ओली पक्षले कहिलेकाँही जबजका विषय उठाउँदा माओवादी र एमालेभित्रैका कतिपयले त्यसमा असन्तुष्टि पोख्ने गरेका थिए । यो अवधिमा जबज धरापमा परेको थियो ।

एमाले जबज अनुसार चलेको छ त ?
एमालेका नेता प्रेमल खनाल मदन भण्डारीले अघि सारेको जबजको सिद्धान्त अनुसार एमाले अघि बढ्न नसकेको बताउँछन् । जबजको सारभूत तत्व भनेको लोकतान्त्रिक विधि पद्धतीबाट पार्टी र राज्य संचालन गर्ने, समाजलाइ पनि लोकतान्त्रिकरण गर्ने भन्ने थियो । तर एमालेमा त्यो नभएको र सर्वसत्तावादी व्यक्तिवादी प्रवृत्ति हावी भएकोे खनालको भनाई छ। उनी भन्छन् , ‘मदनले परिकल्पना गरे अनुसार एमाले पार्टी संचालन भएकै छैन।’ एमाले र माओवादी मिलेर नेकपा हुँदा पनि जवजको मान्यता विपरित पार्टी चलेको खनाल बताउँछन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक देवराज अर्याल मदन भण्डारीले कम्यूनिष्ट आन्दोलनलाई लोकतान्त्रिक धारमा लैजाने उद्येश्यले जबजको सिद्धान्त प्रतिपादन गरेका र त्यो अनुसार एमाले लोकतान्त्रिक धारमा गएको बताउँछन् । अर्याल भन्छन् , ‘जबजको परिकल्पना बमोजिम पार्टीलाई एकढिक्का बनाउने बामपन्थी एकताप्रति सफलता हासिल गर्नसक्ने गरी एमाले अघि बढ्न पर्ने आवश्यकता भने छ।’
एमालेमा जबजको सिद्धान्त कसले बोकेको छ त ?
एमाले नेता प्रेमल खनाल भन्छन् जबजको सिद्धान्त कुनै व्यक्ति नभइ पार्टीले बोकेको सिद्धान्त हो, त्यसलाइ अनुशरण गरेपछि नेतृत्वमा रहनेले पार्टी सिद्धान्त बमोजिम नै चल्नुपर्नेमा त्यस विपरित यति होल्डिङ लगायत दलाल पूँजीवादलाई पोस्ने काम भएको छ । गरीब निमुखाको हितमा काम भएन। उपप्राध्यापक अर्याल भने जबजको सिद्धान्तमा स्वदेशी उद्योग व्यवसायलाई विकास गर्नपर्छ भन्ने मान्यता रहेको र त्यसलाई नराम्रो रुपमा हेर्नु नहुने बताउँछन् । अर्याल भन्छन् , ‘राज्यको सम्पत्तिलाई दोहन गर्ने, अतिक्रमण गर्ने काम चाहिँ बेठिक हुन् र जबजले पनि त्यसैतर्फ इंगित गरेको छ यसमा एमालेले निडर रुपमा प्रस्तुत हुनुपर्छ । जबजको सिद्धान्तलाई अघि बढाउने काम एमालेकै हो।’

विश्वमा कम्युनिष्ट र समाजवादले धक्का खाइरहेको अवस्थामा र विश्वव्यापी रूपमा समाजवाद प्रतिरक्षात्मक अवस्थामा पुगेको बेला नेपालमा त्यसलाई कसरी बचाइराख्ने भन्ने उच्च जोखिम रहेका बेला मदन भण्डारीले जबजको सिद्धान्त अघि सारेका थिए । जसले नेपालमा कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय आन्दोलनका रूपमा स्थापित गर्नमा भूमिका निर्वाह गरिरहेको छ । जबजको सिद्धान्त नआएको भए अरु मुलुकमा जस्तै नेपालमा पनि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न हुने खतरा रहेको कतिपय कम्युनिष्ट नेताको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया