बाँच्न र बचाउन सबै सामाजिक संस्था एकजुट हुन जोड

RSS
35
Shares

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रण गर्नका लागि सामाजिक संघसंस्थाले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

मानव अधिकार पत्रकार संघले ‘महामारीमा सामाजिक संघसंस्थाको भूमिका’ विषयक अन्तरक्रियामा सरोकार पक्षले महामारीका बेलामा सामाजिक संस्थाले वैकल्पिक सरकारका रुपमा काम गर्नुपर्ने जनायो ।

सो अवसरमा समाज कल्याण परिषद्का उपाध्यक्ष डा पदमप्रसाद खतिवडाले सातै प्रदेशमा गैरसरकारी संस्थासँगको परामर्शमा नीतिगतरुपमा कोभिड–१९ महामारी नियन्त्रणमा सहयोग गर्न संघसंस्थालाई २० प्रतिशतसम्म रकमान्तर गर्न अनुमति दिइएको बताए। राष्ट्रिय मानव अधिकार आयोगका निमित्त सचिव डा टीकाराम पोखरेलले महामारीमा अक्सिजन र औषधि नपाएर धेरै संक्रमित मर्नु परिरहेकाले तीनै सरकारले यसबारेका ध्यान दिनुपर्नेमा जोड दिए।

गैरसरकारी संस्था महासंघका अध्यक्ष जीताराम लामाले संस्थाले कोरोनाविरुद्ध ७७ जिल्लामा जिल्लास्तरको केन्द्रीय संरचना बनाएर काम गरिरहेको बताए। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस अवस्थामा सबैले आफू बाँचेर अरुलाई बचाउनका लागि लाग्नुपर्नेमा जोड दिए।

समाजकल्याण परिषद्का सदस्य सचिव पुष्कर खातीले प्राथमकिताका आधारमा एकल महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रत्यक्ष सहयोग गर्न सकिने गरी परिषद्ले नीतिगत निर्णय गरेको जानकारी दिए।

हुर्जाका अध्यक्ष घनश्याम खड्काले महामारीबाट बाँच्न र बचाउनका लागि सबै सामाजिक संस्था एकजुट भएर लाग्नुपर्ने बताए । कार्यक्रममा सातै प्रदेशका सामाजिक संघसस्था र पत्रकारको उपस्थिति थियो । कोभिड –१९ नियन्त्रण तथा रोकथामका लागि सबैले मिलेर काम गर्नुपर्ने र आआफ्ना ठाउँबाट गर्न सकिने कामबाट शुरु गर्नुपर्ने सुझाव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?