यतिबेला अधिकांश नेपालीको मनमा त्रास र समस्याले बास गरेको छ । कोरोनाको त्रास त छँदैछ । कतिपयले परिवारका सदस्य गुमाएका छन्, कतिपयका परिवार, आफन्त संक्रमित छन् । उनीहरुले समयमा बेड पाएका छैनन्, अक्सिजन पाएका छैनन्, भेन्टिलेटर पाएका छैनन् । कतिपयलाई निषेधाज्ञाका कारण परिवारको हातमुख जोर्न र डेरा अनि सटरको भाडा तिर्न सकस भएको छ । आर्थिक समस्याकै कारण घरघरमा कलह उत्पन्न भएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि ७० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । काठमाडौं उपत्यकामा पनि वैशाख १६ बाट निषेधाज्ञा लागू भएको छ । संक्रमणको दर तीव्र बनेपछि पछिल्लो पटक प्रशासनले आगामी जेठ १३ सम्मलाई निषेधाज्ञा लम्ब्याएको छ । यस अवधिमा खाद्यान्न पसल बिहान १० बजेसम्म मात्रै खोल्न दिइएको छ भने अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन दिइएको छैन । बिनाकाम बाहिर निस्किनेलाई होल्डिङ सेन्टरमा राख्ने र एक सय रुपैयाँ जरिवाना गर्ने गरिएको छ ।

निषेधाज्ञाका कारण हुँदा खाने वर्ग निकै मारमा पर्ने गरेको छ । गत वर्ष लागू गरिएको लकडाउनमा धेरै संघसस्थाहरुले राहत वितरण गरे । स्थानीय सरकारले पनि राहत वितरण गर्यो । तर, यसपटक भने यस्ता अभियानहरु कमै मात्रामा संचालन भएका छन् । स्थानीय तहहरुले पनि गत वर्ष जस्तो पर्याप्त मात्रामा राहत वितरण गरेका छैनन् । त्यसकारण दैनिकी ज्यालादारी काम गर्ने वर्ग ठूलो मारमा पर्ने गरेका छन् ।
सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन भने पनि काठमाडौंको भिमसेनस्थानमा हरेक विहान सर्वसाधारणको लाइन लाग्छ । यहाँको यो भीडले सरकारी नियमलाई नै गिज्याएको जस्तो देखिन्छ । तर त्यहाँ खटिएका प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको छैन बरु मिलेर बस्न र सामाजिक दूरी कायम गर्न आग्रह गरिरहेका छन् । किन त ?
किनकी यो उनीहरुको रहर नभएर बाध्यता हो । उनीहरुका लागि रोग भन्दा भोक ठूलो भयो । त्यसैले त निषेधाज्ञा, कोरोना र वर्षाको पर्वाह समेत नगरी उनीहरु लाइन लागेका छन् ।

निषेधाज्ञा लागू भएसँगै उनीहरुको काम रोकियो । कामसँगै दाम रोकियो । अनि दामसँगै माम पनि रोकियो । त्यसपछि उनीहरु माम खानकै लागि यसरी सडकमा आउन बाध्य भए ।
यहाँ बालकदेखि बृद्धसम्म र सक्रियदेखि असक्तसम्मका सर्वसाधारणहरु लाइन लागेका छन् । उनीहरु हरेक दिन बिहान ९ बज्दा नबज्दै त्यहाँ पुग्छन् । यसरी नै लाइन लाग्छन् । खाना लिन्छन् र फर्किन्छन् । कतिपय भने त्यहिँ बसेर भोक मेट्छन् र गन्तब्यतर्फ लाग्छन ।
‘खाना सबैका लागि’ अभियान अन्तर्गत यो ठाउँमा विगत दुई साता यता यसरी नै निःशुल्क खाना वितरण गरिँदै आएको छ । त्यसयता दिनहु यही ठाउँमा पुगेर आफ्नो भोक मेट्दै आएका सर्वसाधारणहरु निःशुल्क भोक मेट्न पाएकोमा खुसी छन् । निःशुल्क खाना वितरण रोकियो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनीहरु अनुत्तरीत छन् ।

एकातिर रोगको चिन्ता, अर्काेतिर भोकको पिरलो । यी दुवैबाट जोगिनुपर्ने बेला आएका छ । कतिपय मनकारी अभियन्ताहरु भने दुःखी, गरिब, निमुखा र बेवारिसे नागरिकको भोक मेट्न लागि परेका छन् । यसरी सामाजिक कार्यमा लाग्नेमाथि अनेक प्रकारका आरोपहरु पनि लाग्ने गरेको छ । खाना सबैका लागि अभियानका संयोजक नवराज मोक्तान भने सक्नेले नसक्नेलाई सकेको सहयोग गर्नुपर्ने बताउँछन् । मोक्तानको समूहले गत वर्ष पनि यसै गरी निःशुल्क भोजनको ब्यवस्था गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया