काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई भारतमा उत्पादित कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज उपहारस्वरुप हस्तान्तरण गरेको छ ।
टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित एक समारोहकाबीच नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले उक्त खोप नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।
उक्त समारोहमा भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले भिडियो कन्फरेन्स मार्फत सहभागिता जनाएका थिए ।
नेपाल भारतको मैत्रीपूर्ण सम्बन्धलाई अझ सशक्त बनाउने उद्देश्यले प्रदान गरिएको सो खोप भारतमै निर्माण गरिएको हो ।
खोप एयर इण्डियाको विमान मार्फत २०७७ चैत्र १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
कोभिड–१९ महामारी विरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई गत वर्षदेखि रेमडेसिभिर, एक्सरे मेसिन, रेडियोग्राफी उपकरण, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनीट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण तथा एम्बुलेन्स लगायत विभिन्न किसिमको सहयोग गर्दै आएको छ । भारतले अहिले प्रदान गरेको कोभिड–१९ विरुद्धको खोपको हस्तान्तरणले कठिन घडीमा दुई देश र दुई देशका सेनाबीच हुने सहकार्यलाई पुष्टि गरेको भारतीय दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया