कांग्रेस पदाधिकारी बैठकः ‘कांग्रेसको नेतृत्वमा सरकार बन्ने सुनिश्चित छैन’

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सोमवार भएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि नेता रमेश लेखकले कांग्रेसको नेतृत्वमा सरकार बन्ने सुनिश्चित नभएको बताएका छन् । बैठकपछि पत्रकारलाई जानकारी दिँदै उनले अझै परिस्थिति सुनिश्चित र परिपक्क नभएकाले कांग्रेसको सरकार बन्न नसक्ने बताएका हुन् ।

लेखकले बैठकमा नयाँ सरकार गठनबारे छलफल नभएको संकेत गर्दै भनेका छन्, ‘सरकार बनाउन परिस्थिति सुनिश्चित हुनुपर्छ, अवस्था परिपक्व हुनुपर्छ । वैकल्पिक सरकार दिने आवश्यकता पर्‍यो भने दिन्छौं भनेकै छौं।’

बैठकमा सभापति शेरबहादुर देउवालाई पार्टीबाट नयाँ प्रधानमन्त्रीमा औपचारिक प्रस्ताव गरिने विषयमा छलफल हुने अनुमान गरिएतापनि लेखकको भनाइ अनुसार त्यसो नभएको स्पष्ट भएको छ । बरु पार्टीको क्रियाशील सदस्यबारे छलफल भएको लेखकले बताए ।

बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, डा.मिनेन्द्र रिजाललगायतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?