सत्ता समीकरणका लागि निर्णायक जसपा संसदीय दलको बैठक सकियो, के भयो कुरा ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको नेता चयन गर्न सकेन । शुक्रवार बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने अपेक्षा गरिए पनि आन्तरिक विवादका कारण उक्त विषयलाई थाती राखिएको बताइएको छ ।

नयाँ सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा रहेको जसपा नेपालले अहिलेसम्म आफ्नै संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसदीय दलको नेताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई आकांक्षी छन् ।

बैठकमा संसदीय दलको विधानसमेत प्रस्तुत भएको छ । विधान अध्ययन गरी अर्को बैठकमा यसलाई पारित गर्ने जनाइएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि जसपा बनेपनि संसदीय दलमा भने अहिले पनि दुवै पार्टी छुट्टाछुट्टै छन् ।

सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको जसपाले सरकारमा सहभागि हुने वा नहुने भन्ने निर्णय पनि आजको बैठकबाटै गर्ने अनुमान गरिएको थियो। जसपाका नेताहरु हिजो बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर छलफल गरेका थिए।

मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइलगायतका माग सम्बोधन भए सरकारमा सामेल हुने जसपाको अडान छ ।

संसदीय दलको बैठकअघि जसपाका शीर्ष नेताहरू छुट्टै छलफलमा जुटेका थिए । अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयको अर्को कक्षमा छुट्टै छलफल हुँदा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने अनुपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?