प्रधानमन्त्री र जसपाबीचको छलफल सकारात्मक, शुक्रवार पनि वार्ता

काठमाडौँ- प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा)का प्रमुख नेताबीच सकारात्मक छलफल भएको छ । बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

छलफलमा जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, लक्ष्मणलाल कर्णलगायत सहभागी थिए । नेकपाको तर्फबाट प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा. राजन भट्टराई लगायत सहभागी थिए ।

नेकपा एमाले र जसपाबीच शुक्रवार कार्यदलस्तरमा अनाैपचारिक छलफल हुने जनाएको छ । आजै बसेका जसपाको शीर्ष नेताहरुको बैठकले सत्ता समीकरणको विषयमा संसदमा रहेका प्रमुख तीन दलसँग शीर्ष नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको थियो।

मंगलवार बसेको जसपाको संसदीय दलको बैठकले रेशम चौधरीमाथिको मुद्दा र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?