राष्ट्रिय जनमोर्चाले भन्यो- ‘राजनीतिक अन्यौलता समाधान गर्न प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको जनाएको छ ।

संसद पुनर्स्थापना भएको अवस्थामा सर्वोच्च अदालतले नेकपाको वैधानिकता अन्त्य गर्दै थप अन्यौलता पैदा गरेका राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

सोमवार एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले भनेको छ, ‘सर्वोच्च अदालतको त्यो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संगठनात्मक एकता भई निर्माण भएको नेकपा (नेकपा) को वैधानिकता समाप्त भएको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी तरिकाले संसदको विघटन गरेर देशमा एक प्रकारको राजनीतिक अस्थिरता, अन्यौल र प्रतिगामी खतरा उत्पन्न भएको थियो । त्यस विषयमा सर्वोच्च अदालतले दिएको निर्णयले संसदको पुनस्र्थापना भएको थियो । त्यो सकारात्मक कुरा थियो । अहिले नेकपाको वैधानिकता समाप्त भएको स्थितिमा संसदमा कुनै पनि पार्टीको बहुमत रहेन । त्यो स्थितिमा झन राजनीतिक र कानूनी जटिल समस्या, अस्थिरता र अन्यौलता बढेको छ ।’

संसदको विघटन र नेकपा भित्रको अन्तरविरोध वा कलहको मुख्य कारण केपी साथै ओलीको व्यक्तिवादी, अराजक कार्यशैली नै बढी जिम्मेवार रहेको जनमोर्चाको आरोप छ।

साथै अहिलेको अवस्थामा पनि ओली नै बढी जिम्मेवार रहेको बताउँदै ओलीले राजनीनामा दिएर राजनीतिक समस्या समाधान गर्न राष्ट्रिय जनमोर्चाले आग्रह गरेको छ ।

‘अहिले पनि उनी नै बढी जिम्मेवार छन् । यसप्रकारको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर यो समस्यामा निकाश दिनु पर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटक बीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्नु नै उपयुक्त विकल्प हो । त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नु पर्छ ।’

यसप्रकारको हाम्रो विचारको मुख्य उद्देश्य नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा पैदा हुन्छ भन्ने रहेको स्पष्ट पारेको छ। साथै त्यहि कारणले जनमोर्चाले केपी ओलीको सरकारलाई समर्थन गरेका जनाएको छ।

संसद विघटन गर्ने ओलीको कमदपछि खतरा उत्पन्न भएपछि समर्थन फिर्ता लिएको जनमोर्चाले बताएको छ । साथै अहिलेको अवस्थामा संसद नरहने खतरा टरेको बताउँदै राष्ट्रिय एकतामा जोड दिन आग्रह गरेको छ ।

‘ओलीको संसद विघटनको कदमले ती कुराहरुमा खतरा उत्पन्न भएपछि हामीले त्यो सरकारलाई दिएको समर्थन फिर्ता लियौँ । अहिलेको स्थितिमा पनि त्यो खतरा टरेको छैन । त्यो खतराका विरुद्ध राष्ट्रिय एकताको खाँचो छ ।’ जनमोर्चाले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?