काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ ।
कांग्रेसले सांसदहरुको धारणा लिन आज (शुक्रवार) संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस नेतृत्व संसदीय दलमा स्वतन्त्र रूपमा सांसदहरुका धारण सुन्ने तयारीमा छ ।
हिजो (बिहिवार) कांग्रेस पदाधिकारी बैठकमा राजनीतिक निकासका लागि कांग्रेसमा तीन विकल्पमा छलफल भइरहेको थियो । कांग्रेसले नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने वा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुपर्ने विषयलाई विकल्पमा रुपमा अगाडि सारेको छ ।
संसदीय दलको बैठकमा पनि यी तीन विकल्पमा छलफल हुने बुझिएको छ । संसदीय दलका नेता देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने बताइएको छ ।
सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध विभिन्न चरणमा देशव्यापी विरोध प्रदर्शन गरेको थियो । प्रतिनिधिसभाको पुनर्स्थानापछि भने कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई पक्षमध्ये कुनसँग सहकार्य गर्ने भन्ने सम्बन्धमा बहस जारी रहेको अवस्थामा संसदीय दलको बैठकमा सो बारेमा समेत सांसदको राय लिइने बताइएको छ ।
प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनर्स्थापनाको फैसला सुनाएको थियो । सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया