कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकारमा सहभागिताबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बिहीवार पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् । दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्‍ने बैठकले भोलि शुक्रवार बस्ने संसदीय दलको बैठकका एजेण्‍डा तय गर्ने कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिनिधिसभामा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । कांग्रेसले शुक्रबारको संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन तथा उपत्यका नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेको छ ।

सरकारमा सहभागिताबारे पार्टीमा दुई मत बाहिर आएपछि देउवाले संसद पुनःस्थापनापछि दोस्रो पटक पदाधिकारी बैठक बोलाएर छलफल गर्न लागेका हुन् ।

सरकारमा सहभागिताबारे कांग्रेसभित्र मत विभाजित छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले तत्काल सरकारमा जान नहुँने बताउँदै आएका छन् भने सरकारमा जाने मनसाय देखाएका देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने अभिव्यक्ति दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?