काठमाडौं । संघीय संसदका सांसदहरुलाई आज(बुधवार) कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाइँदैछ ।
प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी तथा दुवै सदनका सांसदहरुलाई खोप लगाइने भएको हो ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कोरोना खोप लगाउने कार्यक्रम रहेको छ ।
सचिवालयका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारी, मर्यादापालकलाई पनि खोप लगाइने छ ।
यही महिनाको २० गते बिहीवार संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई समेत खोप लगाउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । त्यसको भोलिपल्ट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी तथा अगाडि खोप लगाउन छुटेका कर्मचारीहरुलाई खोप लगाइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया